१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेकपा एसले झाक्रीसँग सोध्यो स्पष्टीकरण, पार्टीबाट निष्कासनसम्मको तयारी

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ। केही दिन अघि अध्यक्ष माधवकुमार नेपालबारे झाक्रीले गरेको टिप्पणीलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको हो। पार्टीको अनुशासन आयोगबाट बुधबार सोधिएको स्पष्टीकरणको म्याद तीन दिनको रहेको पार्टी स्रोतले बतायो।  

‘स्पष्टीकरणको म्यादभित्र उहाँले जवाफ दिनुभएन वा चित्तबुझ्दो भएन भने पार्टीबाट निष्कासन पनि हुनसक्छ,’ स्रोतले भन्यो।  

झाक्रीले केहीदिनअघि बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा लागेकाले नेतृत्व परिवर्तनको कुरा उठाएकी थिइन्।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,’ झाक्रीले भनेकी थिइन्,‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’ सँगै उनले ‘अर्ली महाधिवेशन’ गरेर हलबाट नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा उठाएकी थिइन्।  

अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा मुछेर भ्रष्टाचार मुद्दा लगाएको थियो। विशेष अदालतले नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।  

तर नेकपा एसले भने नेपालमाथि राजनीतिक प्रतिशोधपूर्ण मुद्दा लगाइएको निष्कर्ष निकाल्दै अध्यक्ष पदबाट बाहिरिनु नपर्ने निष्कर्ष निकालेको थियो। यस्तोमा झाक्रीले यस्तो बोलेपछि नेकपा एसका नेताहरू उनीप्रति आक्रोशित बनेका छन्। नेकपा एसका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति निकालेले पार्टी नेतृत्व र निर्णयको भावनाबाहिर गएर अभिव्यक्ति नदिन चेतावनी पनि दिइसकेका छन्।

प्रकाशित: १८ असार २०८२ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App