२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

गुटले गिजोलिएको कांग्रेसमा एकताको चर्चा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक बनाउने इच्छा रहेको मात्र बताएनन्, कांग्रेसभित्रको एकता कायम रहे एक्लैको बहुमत आउने विश्वास पनि व्यक्त गरे। कांग्रेस नेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभालाई शुक्रबार चितवनमा सम्बोधन गर्दै देउवाले आफू पार्टीबाट ‘रिटायर्ड’ हुन लागेको पनि बताए ।

आइतबार उनै प्रधानको निवास पुगेका कांग्रेस नेता शेखर कोइरालाले पनि आफूले पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्ने दाबी गरे। देउवा र शेखर मात्र होइन, कांग्रेसका अधिकांश नेताहरू सार्वजनिक रूपमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने र आफू नै त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्दै आगामी नेतृत्व प्रतिस्पर्धाको तयारीमा छन्। 

तर पार्टी नेतृत्वमा पुग्न मात्र होइन, पार्टी र सत्ता राजनीतिमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सभापति देउवा र नेता शेखरले संस्थापन र इतर समूहको त नेतृत्व गर्छन् नै, अन्य नेताहरूले पनि गुटभित्र उपगुट र समूहहरू निर्माणलाई तीव्र बनाउँदै लगेका छन्। त्यस्ता उपगुट र समूह विचार, कार्यक्रम र सिद्धान्तका आधारमा भन्दा सत्ता र शक्ति स्वार्थमा केन्द्रित हुन पुगेका छन्। यसले गर्दा कांग्रेस गुट र समूहहरूको महासंघजस्तो मात्र बनेको छैन, वडा तहसम्मलाई कांग्रेसको गुट विवादले गिजोलेको छ।

आफू र आफ्नाले अवसर पाए ठिक अर्काले पाए बेठिक भन्ने मान्यता स्थापित हुँदै जाँदा कांग्रेसका लागि गुट व्यवस्थापन निकै पेचिलो बन्दै गएको छ। त्यसको प्रभाव पार्टीभित्रको प्रतिस्पर्धामा मात्र होइन, आम निर्वाचन र अन्य निर्वाचनमा पनि पर्ने गरेको छ। 

कांग्रेस सभापति देउवाले त्यसलाई नै संकेत गर्दै शुक्रबार भनेका थिए, ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो।’ देउवाले भनेको अन्तरघातको यही रोगलाई कांग्रेसभित्रको गुट, उपगुट र समूहहरूले संरक्षण गर्दै आएका छन्। अहिले कांग्रेसमा संस्थापन र इतर मुख्य दुई गुट भए पनि एक दर्जन उपगुट र समूह सक्रिय छन्। कांग्रेस राजनीतिमा प्रभाव बढाउँदै लगेका जुनकुनै नेताहरू आफ्नो छुट्टै कसिलो समूह बनाउन सक्रिय भएका छन्। 

पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, हुन नसकेका पदाधिकारी मात्र होइन, १५औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी नेताहरू पनि समूह बनाउन सक्रिय छन्। त्यो क्रम संस्थापनमा भन्दा इतरभित्र बढी देखिएको छ। सभापति देउवा र उनको वरिपरि देखिएका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठका साथै पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र शशांक कोइरालाले आआफ्नै समूह निर्माण गरेका छन्। पार्टी उपसभापति पूर्णबहादुर खड्का पनि देउवापछि संस्थापन पक्षलाई आफूमा केन्द्रित गर्न सक्रिय देखिएका छन्।

सभापति देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा पनि पार्टीभित्र छुट्टै समूह निर्माणमा सक्रिय छिन्। आगामी महाधिवेशन आरजु पदाधिकारीको उम्मेदवार बन्ने तयारीमा छिन्। उनी मात्र होइन, पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित प्रकाशशरण महत, प्रदीप पौडेलका साथै बालकृष्ण खाण र एनपी साउद समूह बनाउन सक्रिय छन्। साउद, डिला संग्रौलासहितका नेताहरूले विभिन्न अभियानसहित जिल्लाजिल्लामा नेता तथा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि गुट निर्माणमा जुटेका छन्। पार्टीको १४औं महाधिवेशनमा थापा शेखर समूहबाट र शर्मा सिंह समूहमा उभिएर महामन्त्रीमा निर्वाचित भएका हुन्। १५औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने आकांक्षासहित तयारीमा जुटेका थापाले ‘आफू जहाँ उभियो त्यहीँबाट कांग्रेसमा लाइन सुरु हुने’ एक अन्तर्वार्ता दिएका थिए। त्यसले शेखर र गगन सम्बन्ध सुमधुर नभएको स्पष्ट संकेत गर्छ। आइतबार चितवन पुगेका शेखरले गगन आफूसँगै रहेको दाबी गरेका थिए। तर कांग्रेसका नेताहरू भने दुवै नेता आगामी महाधिवेशनसम्म एकअर्कालाई उपयोग गर्ने रणनीतिमा रहेको बताउने गर्छन्। 

१४औं महाधिवेशनमा महामन्त्रीमा पराजित मीनेन्द्र रिजालले आगामी महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न सक्रियता बढाएका छन्। पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदारको पनि कांग्रेसमा छुट्टै समूह छ। गच्छेदार २०७४ सालको आम निर्वाचनको मुखमा छुट्टै दलको हैसियतमा कांग्रेसमा समाहित भएका हुन् भने सुनिल थापा नेतृत्वमा अर्को समूह पनि कांग्रेसमा छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट थापासहितका नेता कांग्रेसमा आएका हुन्। थापा अहिले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार (विज्ञ) छन्। पूर्वमहामन्त्री कुलबहादुर गुरुङसहितका केही नेता संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्ने समूह मात्र होइन, हिन्दु राज्यको पक्षमा सडकदेखि संसद्सम्म बहस पैरवी गर्ने शंकर भण्डारीसहितको अर्को समूह पनि कांग्रेसमा देखिएको छ अहिले। 

हुन त २००६ चैत १४ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको हो। त्यतिबेलादेखि नै गुट र समूहमा कांग्रेस विभाजित भएको थियो। सुरुदेखि नै नेताहरूका बिचमा रहेको मतभिन्नताले कांग्रेसलाई पटकपटक टुटफुटमा पुर्‍याएको थियो भने प्रजातन्त्र, पुन:स्थापित प्रजातन्त्रसहितका परिवर्तनहरू पनि संकटमा परेका थिए। बिपी कोइराला र मातृकाप्रसाद कोइरालाको टसलमा राजाले खेल्दा संविधानसभाको निर्वाचन ६ दशक धकेलिन पुगेको थियो। 

बिपी र सुवर्णशमशेर राणाबिच सरकार गठनमा सहमति जुट्न ढिलाइ हुँदा पहिलो आम निर्वाचनपछि सरकार गठनमा ढिलाइ हुन पुगेको थियो। त्यही विवादमा कांग्रेस महामन्त्री तुलसी गिरीहरूलाई प्रयोग गर्दै राजाले २०१७ पुस १ गते जननिर्वाचित सरकार भंग गरेका थिए। २०३६ सालको जनमत संग्रहको परिणाम स्विकार गर्ने कि नगर्ने भन्नेमा बिपी कोइरालासँग गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका नेताहरूको मत बाझिएको थियो।

गणेशमान सिंहको अगुवाइमा कांग्रेस र वामपन्थीहरू मिलेर प्रजातन्त्र पुनस्र्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गरे। राजा प्रजातन्त्र पुनस्र्थापना गर्न तयार भए। २०४८ सालमा आम निर्वाचन भयो। त्यससँगै कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबिच विवाद बढ्न पुग्यो। २०५१ सालमा मध्यावधि निर्वाचन भयो। कांग्रेस दोस्रो दल बन्यो। 

गिरिजाप्रसादको बिग्रँदो छविका कारण कांग्रेसले २०५६ सालको आम निर्वाचनमा भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सार्‍यो। कांग्रेसले फेरि बहुमत पायो। पूर्वसहमतिअनुसार कृष्णप्रसादलाई कांग्रेसले प्रधानमन्त्री बनायो। तर सरकार गठनको वर्ष दिन नपुग्दै उनलाई हटाएर गिरिजाप्रसाद प्रधानमन्त्री बने। माओवादीको हिंसात्मक आन्दोलनबाट आक्रान्त मुलुकमा कांग्रेसभित्रको तिक्तताले थप निराशा बढाउने काम गर्‍यो।

हिंसात्मक आन्दोलन जारी राखेको तत्कालीन नेकपा माओवादीविरुद्ध संकटकाल लगाउने कि नलगाउने भन्ने कांग्रेसभित्रको विवादमा देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी मध्यावाधि निर्वाचन घोषणा गरे। पार्टी निर्णयविपरीत काम गरेको भन्दै कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। 

देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे। २०५९ सालमा विभाजित कांग्रेस २०६४ असोजमा भएको महासमिति बैठकबाट फेरि एक बन्यो। २०६४ सालमा पार्टी एकीकरणपछि कांग्रेसभित्रको गुटगत राजनीति अझ मौलाउन पुगेको छ। केन्द्रमा मात्र सीमित गुट विवाद तल्लो तहसम्म पुगेको छ। सरकार र संसद्मा पनि कांग्रेसभित्रको गुटगत विवादको असर परेको छ। पार्टीभित्र गुटका आधारमा विभिन्न पदका लागि मोलमोलाइ हुन थालेको छ।

अहिले कांग्रेसमा गुटगत किचलो पेचिलो बन्दै गएको छ। विचार, कार्यक्रम र सिद्धान्तका आधारमा नभई व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थलाई केन्द्रमा राखेर गुट बन्ने र भत्कने क्रमले तीव्रता पाएको छ। नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाए पनि यसबाट कांग्रेसले तत्काल मुक्ति पाउने अवस्था देखिँदैन। 

यद्यपि सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पनि नेता शेखर कोइरालाले पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डा अन्त्यका लागि प्रयास गरेको दाबी गरे। १४औं महाधिवेशनमा सभापतिमा पराजित भएलगत्तै आफूले भागबन्डाको राजनीति नगर्ने भनेको स्मरण गराउँदै उनले भने, ‘सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै फरक मत राखिनँ। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’

प्रकाशित: १७ असार २०८२ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App