१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सांसदलाई गुमराहमा राख्दै निजामती ऐन पास

उच्च तहका कर्मचारीलाई कुलिङ पिरियड हटाइयो

प्रतिनिधि सभाबाट सांसदहरुको मनोभावना विपरीत संघीय निजामती सेवा विधेयकमा उच्च तहका कर्मचारीलाई कुलिङ पिरियड नलाग्ने पास गरिएको छ । 

राजनीतिक शक्तिसँग ‘लाइन’ मिलाएर जागिरे जीवनको अन्तिममा सरकारी नियुक्ति लिने प्रवृत्तिलाई निरुत्साहित गर्न राखिएको  दुई वर्षे कुलिङ पिरियडलाई कर्मचारीहरूले हटाउन सफल भएका छन् ।

कुलिङ पिरियड हटाउन मूख्यसचिव एक नारायण अर्यालको नेतृत्वमा लबिङ गरिएको थियो । तर राज्यव्यवस्था समितिले हटाउन नमानेपछि कर्मचारीहरूले काम  नगर्ने धम्की समेत दिएका थिए । त्यसका बाबजुद पनि समितिले संघीय निजामती विधेयकमा कुलिङ पिरियड राखेर संसदमा पठाएको थियो । सामान्य प्रशासन मन्त्रीलाई समेत गुमराहमा राखेर विधेयकमा कुलिङ पिरियड खुला गरेको प्रावधान घुसाइएको थियो। 

प्रतिनिधिसभाले पारित गरेको निजामती विधेयकमा सचिव र सहसचिवका लागि संवैधानिक निकाय र राजदूतसहित उच्च नियुक्ति खुला राखेर ‘कुलिङ अफ पिरियड’को व्यवस्था गरिएको छ । प्रतिनिधिसभा पारित विधेयकको दफा ८२ को उपदफा ५ ले उक्त रहस्य खुलाएको हो ।

उपदफा ४ ले सचिव र सहसचिवका लागि २ वर्ष अन्यत्र काम गर्न रोक लगाउने व्यवस्था गरेको छ । तर, उपदफा ५ को क र ख बुँदाले उनीहरूका लागि संवैधानिक र राजदूत पद खुला गरेपछि कुलिङ पिरियड राखिएको कुनै अर्थ रहेन । उपदफा ५ को क बुँदामा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने’ उल्लेख गरेपछि मुख्यसचिव, सचिवहरूले चाहे जस्तै भएको छ । 

विधेयक ०८० फागुन २१ गते सदनमा पेस भएको थियो । सैद्धान्तिक छलफलपछि राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो । गत  असार १ गते समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । सो प्रतिवेदनमा छलफलपछि आइतबार विधेयक पारित भएको हो । विधेयकमा ट्रेड युनियन लगायतका व्यवस्थालाई यथावत् राखिएको छ । राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भएपछि  संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ । यसलाई कुलिङ पिरियड भन्ने गरिन्छ । कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो ।

सो बुँदाले संवैधानिक आयोगहरू र राजदूतसहित मन्त्रिपरिषद्ले नियुक्त गर्ने केही पदमा बाहेक मात्रै कुलिङ अफ पिरियड लागू हुने भएकाले सांसदहरु चाहेजस्तो विधेयक बन्न नसकेको हो । त्यसैगरी, ख बुँदामा अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रूपमा काम गर्न नपाइने भनेको छ । यो बुँदाले यूएन एजेन्सी, विश्व बैंक, एडिबीलगायतका निकायमा नियुक्ति लिन रोक लगाउँदैन । यो विषयमा राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडा पनि अलमलमा परेका छन् । 

‘संसदबाट कुलिङ पिरियड कायम राखेर पास गरिएकोमा हामी ढुक्क थियौ, तर यो बाहेक भन्ने शब्द कसले थप्यो सांसदहरूलाई गुमराहमा राख्ने काम भयो’, सभापति खतिवडाले भने । प्रतिनिधि सभाबाट सो विधेयक पास भएपछि अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले चाहेमा सो विधेयक संशोधन गर्न सक्छ । तर कर्मचारीहरू हाबी भएकाले  अब संशोधन नहुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित: १६ असार २०८२ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App