नेकपा एकीकृत समाजवादीले माधवकुमार नेपाल अध्यक्षका रूपमा निरन्तर काम गर्ने निष्कर्ष निकालेको छ। शुक्रवार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिशोधनका रूपमा मुद्दा लगाइएको निष्कर्षसहित नेपालले अध्यक्षका रुपमा निरन्तर काम गर्नुपर्ने निष्कर्ष निकालेको हो।
‘अध्यक्ष कमरेड अहिले अध्यक्षकै रुपमा रहनुहुन्छ। अध्यक्षकै रुपमा काम गरिरहनुभएको छ,’ बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘अध्यक्षकै रूपमा बैठकको अध्यक्षता गरिरहनुभएको छ।’
संसदीय दलको नेताको हकमा भने संसदीय दलको बैठक बसेर निर्णय लिने ज्वालाले बताए। ‘संसदीय दलको नेताका सन्दर्भमा संसदीय दलको बैठक बस्ला, त्यहाँ निर्णय हुन्छ,’ उनले भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपाललाई भ्रष्टाचार मुद्दा लगाएको छ। विशेष अदालतले सो मुद्दामा नेपालसँग ३५ लाख धरौटी मागेर छाडेको छ।
भ्रष्टाचार मुद्दा अभियोजन भएका कारण अध्यक्ष नेपालको सांसद पद निलम्बनमा छ।
प्रकाशित: १३ असार २०८२ १९:२६ शुक्रबार





