नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीपछि शेरबहादुर देउवानै प्रधानमन्त्री बन्ने बताएका छन् । ‘नागरिक फ्रन्टलाइन’ को बुधवारको अङ्कमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गर्दै डा. रिजालले संसदीय दलको नेता बदल्ने कुरा बन्द गरे हुन्छ भन्ने प्रतिक्रिया दिए ।
‘नेता बदल्ने कुरा बन्द गरे हुन्छ। काँग्रेसका नेताहरूलाई मेरो यो अनुरोध हो। किनभने उहाँहरूले हस्ताक्षर गरेरै काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ,’काँग्रेस आफैँले संसदीय दलको नेता नै परिवर्तन गरेर कुनै युवालाई दिए सरकार प्रभावकारी हुन्थ्यो कि?भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘त्यति बेला कुन चेतनाबाट लेख्नुभयो? त्यसैले अहिले प्रधानमन्त्री अर्को मान्छे बनाउने नसोचे हुन्छ, कुरा नगरे हुन्छ।’
रिजालले काँग्रेसका नेताहरूलाई महाधिवेशन तर्फ ध्यान दिन सुझाव दिए । ‘संसद्को नेता बदल्ने कुरा बिर्सनुस्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तपाईँले लेख्नुभएको छ। सहमति गर्नुभएको छ,’ उनले थपे, ‘ओलीको पालो सकिएपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो भन्ने कुरा काँग्रेसको प्रतिबद्धता हो। त्यही बाटोमा जाने हो।’
प्रकाशित: १३ असार २०८२ ०९:२५ शुक्रबार





