बागमती प्रदेशसभाको आज (बिहीबार) बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन भएको छ।
यही असार १६ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्नेगरी सबै सांसदलाई सूचना सम्प्रेषण गरिएको जानकारी दिए।
गत असार १ गते प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सरकारकोतर्फबाट आगामी आव २०८२/८३ का लागि बजेट विनियोजित गरिँदा निष्पक्ष र पारदर्शी नभएको भन्दै सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोध गरेपछि बैठक नियमित बस्न सकेको छैन।
सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदसँग सहमति जुटाउने प्रयास गरिएको जनाउँदै सहमतिअनुसार असार १६ गते दिउँसो १ बजे बैठक बस्ने उल्लेख गरे।
राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सत्तापक्ष दलका केही सांसद र प्रतिपक्ष दलका केही सांसदले प्रतिरोधका कारण आजको बैठक स्थगित भएको बताए।
प्रकाशित: १२ असार २०८२ १५:३७ बिहीबार




