मध्यअसार पुग्न लाग्दा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव विहिन भएको छ । योजना र बजेट बनाउने बेला मन्त्रालय सचिवविहीन हुन पुगेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ महिनाअघि देखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव नपठाउँदा कामकार्वाही रोकिएका छन् । जसका कारण चालु आर्थिक वर्षभित्र भुक्तानी गर्नुपर्ने कामहरु रोकिएका छन् । कर्मचारीले दुई महिनादेखि तलव खान पाएका छैनन् ।
पटकपटक सचिव पठाउन मन्त्रालयबाट मौखिक जानकारी गराएपनि सुनुवाई नभएको मन्त्रालय स्रोतले बताएको छ । सचिव दीर्घनारायण कोईराला सरुवा भएर गएयता जेष्ठ ११ गतेदेखि मन्त्रालयमा सचिवविहीन भएको हो ।
चालु आर्थिक वर्षको योजना, बजेट कार्यान्वयन र आगामी वर्षको बजेट निर्माणमा सचिव नहुुँदा समस्या परेको जनाइएको छ । कांग्रेसको भागमा परेको मन्त्रालय भएकाले एमाले निकट सचिव पठाउन राजनीति खिचातालीका कारण ढिलाई भएको हुन सक्ने श्रोतले जानकारी दिएको छ ।
प्रकाशित: १२ असार २०८२ १४:५५ बिहीबार





