जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार ‘बिचौलिया’ को स्वार्थमा चलेको आरोप लगाउँदै समर्थन कायम राखिरहन नसकिने चेतावनी दिएका छन्।
सरकारले सुशासन, समृद्धि र संविधान कार्यान्वयनको वाचामा जनतालाई धोका दिएको भन्दै उनले अब समर्थन फिर्ता लिने बाहेक अर्को विकल्प नरहेको संकेत गरेका हुन्।
रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘यो सरकार जनमुखी होइन, केवल म्युजिकल चियरको खेल बनेको छ। सरकार सुधारको एजेन्डामा होइन, विनाशको स्क्रिप्ट अनुसार चलिरहेको छ। यस्तो सरकारलाई समर्थन दिइरहनु संविधान र जनतामाथिको गद्दारी हो।’
उनले सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने र पद बाँडफाँटमा मात्र केन्द्रित भएको तर जनताका मुद्दामा पूर्ण उदासीन रहेको बताए। ‘सुशासन कुन चराको नाम हो भन्ने सरकारलाई थाहा छैन,’ यादवले प्रहार गरे, ‘बजेट गरिब, श्रमिक, किसानमुखी भएन, विचौलियामुखी बनेको छ।’
अध्यक्ष यादवले सरकार संघीयतालाई समाप्त पार्ने दिशामा अघि बढेको आरोपसमेत लगाए। प्रदेश सरकारलाई कर्मचारी र स्रोतसाधन नदिएर अधिकारविहीन बनाइएको भन्दै उनले भने, ‘संविधान कार्यान्वयनमा सरकार पूर्ण उदासीन छ। संविधान पालना नगर्नेहरूले नै आज देश बिगारेका छन्।’
देशको आर्थिक अवस्था जर्जर बन्दै गएको र राष्ट्रिय ऋण अढाई खर्ब नाघेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले सरकार रेमिट्यान्सको भरमा चलेको भ्रममा रहेको टिप्पणी गरे। ‘देशको आर्थिक जरा सडिसकेको छ, उत्पादन ठप्प छ, तर सरकारलाई कुनै मतलब छैन,’ उनले भने।
अध्यक्ष यादवले देश अब ‘पुरानो र थकित अनुहार’ को सत्ता मोहबाट मुक्त हुनुपर्नेमा जोड दिए। उनले भने, ‘उस्तै अनुहारको म्युजिकल चेयरले देश थला परेको छ। अब युवाले नेतृत्व लिने र देश कुन बाटोमा जाने भन्नेबारे गम्भीर बहसको समय आएको छ।’
प्रकाशित: १० असार २०८२ १६:१० मंगलबार





