१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्व मुख्यसचिव वैरागीविरुद्ध वाग्लेको ‘संगीन’ आरोप!

भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ। सरकारले अध्यक्षको जिम्मेवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले वैरागीमाथि खनिएका छन्। 

मंगलवार प्रतिनिधिसभा बैठक बहिस्कार गरेर बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले पूर्व मुख्यसचिव वैरागीमाथि निकै आक्रामक भएर संगीन आरोप लगाए। 

पहिले त गृहमन्त्री लेखकले आफ्नो ‘गोजी’बाट वैरागीको नाम ल्याएको भन्न भ्याए। ‘जो माथि आरोप लागेको छ, उसैले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको छ,’ गृहमन्त्री लेखकलाई लक्षित गर्दै वाग्लेले भने,‘उसैले छानबिन समितिको अध्यक्ष तोकेको छ गोजीबाट। उसैको मातहत रहेका सहसचिव छन् सदस्य।’ 

त्यसपछि उनी वैरागीतर्फ केन्द्रित सुनिए। ‘अध्यक्ष छन् एक जना पूर्व कर्मचारी । जो विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रूपमा परिचित हुनुहुन्छ। सात सात वर्ष परराष्ट्र सचिव, पछि मुख्यसचिव,’ वाग्लेले भने। 

वाग्ले त्यत्तिमै रोकिएनन्, वैरागीमाथि रहस्यमय ढंगले मुख्यसचिवको पद छाडेको आरोप पनि दाग्न भ्याए। उनले भने, ‘त्यो पद पनि रहस्यमय ढंगले छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न जानुहुन्छ।’ 

वैरागीले छाडेको मुख्यसचिव पदमा नेपालका ठुला टेलिकम घोटालामा संलग्न व्यक्ति आएको भन्दै अर्का मुख्यसचिव वैकुण्ठ अर्यालतर्फ पनि सोझिए। ‘त्यो ठाउँमा आउँछन् यो देशकै सबैभन्दा ठुला टेलिकमसँग सम्बन्धित घोटालाहरू घटाइएका पात्रहरू सुनिल पौडेल, विकल पौडेल र पूर्व सञ्चार सचिव वैकुण्ठ अर्याल इत्यादिको यो नेक्सससँग कतै न कतै यो साइनो देखिन्छ,’ वाग्लेले भने। 

वाग्लेले ‘विश्वस्त सूत्र’को हवाला दिँदै अहिले छानबिन समितिको अध्यक्ष नियुक्त वैरागीमाथि अनुसन्धान भइरहेको आशय पनि व्यक्त गरे। उनले भने, ‘विश्वस्त सूत्रहरूबाट थाहा भएअनुसार सक्षम निकायले राडारमा राखेको छ यी पात्रहरूलाई।’

अहिले बनेको समिति भिजिट भिसा प्रकरणलाई फासफुस गर्न बनाइएको वाग्लेले भन्न भ्याए। उनले भने, ‘यति गम्भीर विषयलाई टालटुल समिति बनाएर फासफुस गर्ने रणनीतिमा यो सरकार गएको देखिन्छ। यो समिति सुनपानी छर्किने, जोगाउने,  चोख्याउने खराब नियतले जन्मिएको हुनाले यो समिति रास्वपालाई स्वीकार्य छैन।’ 

प्रकाशित: १० असार २०८२ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App