१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकारले गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन छानबिन समिति बनायो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिषा प्रकरणबारे गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समितिप्रति आपत्ति जनाएको छ ।  

प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले छानबिन समितिलाई दूधको साक्षी बिरालोको संज्ञा दिए । 

गृहमन्त्री रमेश लेखकले छानबिनका लागि समिति गठन गरेको जानकारी दिए लगत्तै आफ्नो धारणा राखेका शाहीले भने, 'जसका विरुद्ध अध्ययनका लागि समिति बनाइएको छ, आफ्नो अनुकुल हुने गरी समितिमा पूर्व र वर्तमान कर्मचारीहरु राखेर कस्तो अध्ययन र छानबिनको कल्पना गरिएको हो ? पहेँलो हो भन्दैमा सबै सुन हुँदैन । पछिल्लो १८ वर्षमा बनेका १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिने उद्धेश्यले मात्र यो समिति गठन भएको हो । यो प्रोपोगाण्डामात्रै हो ।' 

प्रमुख सचेतक शाहीले बेचिएका नागरिक राप्रपा र रास्वपा समर्थकमात्र नरहेको चर्चा गर्दै यसलाई संख्याका आधारमा ढाकछोप गर्ने काम नगर्न आग्रह गरे । १४ जना गृहमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै उनले संसदभित्र रहेका सबै दललाई एकजुट हुन अपिल पनि गरे । 

उनले भने, 'संख्याका आधारमा यो मुद्दालाई निस्तेज नपारियोस । यो मान्छे बेच्ने प्रक्रिया हो । अन्यथा देशमा रोजगारी नपाए पनि विदेशमा बेचेर कमाएको रगतको श्राप लाग्नेछ । यो दल विशेषको कुरा हैन, मानवताको कुरा हो । एकजुट होउँ । गृहमन्त्रीले बनाएको समितिमा आपत्ति छ । यसले अपराधिकरणलाई थप प्रश्रय दिन्छ ।'  

सत्ताको नशा लागेको मान्छेले आफूलाई भगवान सम्झने भएकाले यसबाट सचेत रहन उनको अपिल थियो । 

प्रकाशित: १० असार २०८२ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App