१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘जेन-जी’ पुस्ताको विश्वास जित्न ६३ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गरौं: महामन्त्री थापा

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्ता (जेन-जी) को विश्वास जित्नका लागि २०६२/६३ को आन्दोलनपछि सार्वजनिक पद धारण गरेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्न प्रस्ताव गरेका छन्।

नेविसंघ दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार आयोजना गरेको ‘जेन-जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नयाँ पुस्ताले राजनीतिक दल र नेताहरूलाई भ्रष्ट र काम नलाग्ने संस्थाको रूपमा बुझ्न थालेकाले उनीहरूको विश्वास जित्न यस्तो आँट गर्नुपर्नेमा जोड दिए।

‘आजको 'जेन-जी' पुस्ताले पुराना राजनीतिक दललाई कुहिएको, काम नलाग्ने र भ्रष्टाचारमा डुबेको रूपमा बुझेको छ,’ उनले भने, ‘उनीहरुले अब पार्टीको ‘ब्रान्ड’ होइन, प्रमाणिकता खोज्छन्। हिजो हाम्रो पुस्ताले नेताको त्याग र बलिदानका कारण केही छुट दियो होला, तर यो पुस्ताले त्यस्तो छुट दिँदैन।’

उनले नयाँ पुस्ताले सदाचारयुक्त राजनीति खोजेको बताउँदै उनीहरूको विश्वास आर्जन गर्न ठोस कदम चाल्नुपर्ने बताए। ‘यो नयाँ पुस्ताको विश्वास जित्नका लागि हामीले आँट गर्नुपर्छ। २०६२/६३ को आन्दोलनपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न एक स्वतन्त्र र शक्तिशाली आयोग बनाऔं,’ थापाले भने, ‘त्यो आयोगले जोसुकैलाई दोषी देखाए पनि कारबाहीका लागि तयार हुनुपर्छ, तबमात्र यो पुस्ताले पत्याउँछ।’

महामन्त्री थापाले नेविसंघलाई पनि आफ्नो कार्यशैलीमा रूपान्तरण ल्याउन आग्रह गरे। ‘नेविसंघले अब विश्वविद्यालयमा कहिल्यै ताला लगाउँदैनौँ, तोडफोड गर्दैनौँ र शिक्षकलाई कालोमोसो दल्दैनौँ भनेर सङ्कल्प गरोस्,’ उनले भने, ‘बरु सत्याग्रह गरौं, आफ्नो शरीरलाई दुःख दिऔं तर हिंसाको बाटो नअपनाऔं। यस्तो प्रतिबद्धता देखियो भने बल्ल यो पुस्ताले ‘यो त मेरो जस्तै पार्टी रहेछ’ भनेर विश्वास गर्छ।’

प्रकाशित: ८ असार २०८२ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App