सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गरेका छन्। आइतबार (आज) संसद्मा जारी मन्त्रालयको विनियोजित बजेटमाथि बोल्दै थापाले सिंहको आलोचना गरेका हुन्।
थापाले सिंह लौहपुरुष गणेशमान सिंहका छोरा हुन् कि होइनन्, आफूलाई थाहै नभएको बताए। मन्त्रालयगत बजेट बुवा गणेशमान सिंहको नामको सम्मान गर्नेगरी पनि नगरेको उल्लेख गर्दै थापाले भनेका छन्, 'गणेशमान सिंह, उहाँलाई म शिर झुकाएर सम्मान गर्दै तर, सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मान केही केही जिल्लामा केही केही रकममा खोज्न खोजिएको पाएँ मैले। प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन।,' उनले भने।
उनले झन्डै ७५ करोड रकममा गणेशमान सिंहलाई साट्न खोजेको पनि आरोपित गरेका छन्। 'यो बजेट विनियोजनका सन्दर्भमा मैले देखेँ, विभिन्न ठाउँका वडा कार्यालय विपद्मा परेर क्षतिग्रस्त भएका छन्, ती ठाउँहरू बनेका छैनन्। ती ठाउँ माग गर्दा बनाइएका छैनन्। वडा कार्यालयहरू बनेका छैनन्। ती ठाउँ सिफारिस गर्दा ती ठाउँहरू बजेटमा अटाउन्नन्। अनि थाहापत्तो नभइकन, गणेशमान सिंहको पनि सम्मान नहुने खालका, गणेशमानका नाम जोडिएका योजनाहरू चाहिँ त्यो ढङ्गले बजेटमा पाइन्छन्। मलाई त आश्चर्य लागेको छ, राष्ट्रिय योजना आयोगले तीन करोड योजनाको सिलिङ दिएको थियो। सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग देखिएको छ। जनताको जीवन उठाउने खालको योजना देखिएका छैनन्। अझ नेता र आफ्ना पिताजीको बजारमा त्यो पनि चर्चा छ है, पिताजीको नामको बजेटबाट देश अगाडि बढ्छ ?,' उनले भने।
अरु के के भने थापाले ?
विशेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको संक्षिप्त मूल्याङ्कन नगरीकन आजको बजेटका सम्बन्धमा मैले मन्त्रालयत छलफलमा न्याय गर्न सक्दिनँ जस्तो लाग्छ। राजनीति, साहित्यका हिसाबले पनि विशेश्वप्रसाद कोइराला गणेशमान सिंहको पनि नेता हुनुहुन्थ्यो। मैले विश्वबन्धु थापासँग केही अगाडि कुरा गरेको थिएँ। सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन गणेशमान सिंह तयार हुनुभएको भए सायद १७ सालको कू हुँदैनथ्यो। तर, राणालाई उन्मूलन गर्ने र राणालाई नै मान्ने कुरा कसरी हुन्छ भनेर गणेशमान सिंहले लौह अडान लिनुभएको कारणले राजाचाहिँ बीपीसँग टफ सम्बन्धका कारणले कू गर्न पुगेका थिए।
गणेशमान सिंह त्यो ढङ्गको सम्झौताहीन व्यक्ति हो। बीपी कोइरालालाई मनमोहन अधिकारी उहाँ नाता पनि पर्नुहुन्थ्यो, बीपी कोइरालालाई पुष्पलालले पनि संयुक्त आन्दोलनका निम्ति जोड गर्नुभयो तर, बीपी कोइराला बाँचुन्जेल कहिल्यै तयार हुनुभएन। राजासँग घाँटी जोडिएको छ भनेर मेलमिलापको नीति लिन तयार हुनुभयो, कम्युनिष्ट पार्टीसँग मिलेर अगाडि बढ्ने कुरा कहिल्यै गर्नुभएन। र, कांग्रेस र कम्युनिष्ट जहिले-जहिले अलग भए, परस्परमा जुधे,मिलेनन्, संयुक्त जनआन्दोलनमा गएनन्, पञ्चायत तीन वर्ष लम्बियो। बीपी कोइरालाले पहिल्यै पुष्पलालले संयुक्त जनआन्दोलनको नीति अगाडि सार्दा त्यो कुरालाई स्वीकार गर्नुभएको भए पञ्चायत बीस पर्ष पनि चल्दैनथ्यो, तर, ४६ सालमा कैयौं कम्युनिष्ट नेताहरूले मलाई सुनाउनुभए अनुसार गणेशमान सिंहकामा उहाँहरू जानुभयो, गणेशमान सिंहले मनमोहनसँग मिलुँ, भरतमोहन रिसाउने, भरतमोहनसँग मिलुँ मानन्धर रिसाउने, मानन्धरसँग मिलुँ वर्मा रिसाउने; कोसँग मिल्ने ? तपाईंहरू मिलेर आउनुस्, वाममोर्चा बनाएर आउनुस्, अनि सोचौँला भन्नुभयो।
अनि सात कम्युनिष्ट पार्टीको वाम मोर्चा बन्यो र गणेशमान सिंहसँग गएर सम्झौता भयो कि कांग्रेस नेपाली र वाममोर्चाबीच सहमति भयो कि जनआन्दोलन गरेर पञ्चायतचाहिँ आन्दोलन गर्ने कुरा भयो। त्यही आन्दोलन बलमा पञ्चायत फालियो। गणेशमान सिंहले त्यो ढङ्गको नेपालका कम्युनिष्ट पार्टीहरूसँग पनि एकता र सहकार्यका लागि प्रेरित गर्नुभएको थियो। त्यो व्यक्तित्व, लौहपुरुष गणेशमान सिंह, २०४६ सालको सर्वोच्च गणेशमान सिंह उहाँलाई म शिर झुकाएर सम्मान गर्दै तर, सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मान केही केही जिल्लामा केही केही रकममा खोज्न खोजिएको पाएँ मैले। प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन।
तर, झन्डै ७५ करोड रकममा गणेशमान सिंहलाई साट्ने जुन ढङ्गको विनियोजन भएको छ, यो गलत भएको छ। यो खालको चाहिँ गर्नु गलत भएको छ। मैले भन्न चाहन्छु, यो बजेट विनियोजनका सन्दर्भमा मैले देखेँ, विभिन्न ठाउँका वडा कार्यालय विपद्मा परेर क्षतिग्रस्त भएका छन्, ती ठाउँहरू बनेका छैनन्। ती ठाउँ माग गर्दा बनाइएका छैनन्। वडा कार्यालयहरू बनेका छैनन्। ती ठाउँ सिफारिस गर्दा ती ठाउँहरू बजेटमा अटाउन्नन्। अनि थाहापत्तो नभइकन, गणेशमान सिंहको पनि सम्मान नहुने खालका, गणेशमानका नाम जोडिएका योजनाहरू चाहिँ त्यो ढङ्गले बजेटमा पाइन्छन्। मलाई त आश्चर्य लागेको छ, राष्ट्रिय योजना आयोगले तीन करोड योजनाको सिलिङ दिएको थियो। सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिङ्ग देखिएको छ।
जनताको जीवन उठाउने खालको योजना देखिएका छैनन्। अझ नेता र आफ्ना पिताजीको बजारमा त्यो पनि चर्चा छ है, पिताजीको नामको बजेटबाट देश अगाडि बढ्छ ? टुक्रे योजनाहरू थालिनुपर्छ। तीन करोडको योजना सांसदको सिफारिसका लागि मात्रै होइन, सङ्घीय विनियोजनका लागि निम्ति सबैमा लागू हुनुपर्छ। तीन करोडभन्दा कमीका योजना निर्मतापूर्वक जुनसुकै मन्त्रालय पनि कार्यान्वयन गर्न रोक्नुपर्छ। योचाहिँ सांसदहरूलाई देखाउनका लागि सीमा तोक्ने, आफूले मनपरी गर्ने भन्ने हुँदैन।
प्रकाशित: ८ असार २०८२ १५:०८ आइतबार





