१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली असारको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा कूटनीतिक तहमा छलफल भैरहेको छ। सरकार बनेको एक वर्ष पूरा हुन लाग्दा बल्ल कूटनीतिक तहमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको हो।

‘असार तेस्रो सातापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय गर्ने गरी दुवै देशको कूटनीतिक तहमा छलफल भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकृतले भने। यसअघि पनि कूटनीतिक तहमा छलफल भएर पनि भ्रमण हुन नसकेका कारण परराष्ट्र मन्त्रालयले यो विषयमा केही बताउन चाहेको छैन।  

यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक जानुअघि भारत भ्रमणको चर्चा गरिएको थियो। त्यसपछि पनि भारत भ्रमण हुन सकेको थिएन। त्यति बेला ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्ताका क्रममा नेपालद्वारा प्रस्तावित मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भएको भए पनि प्रधामनन्त्री ओलीको भारत भ्रमण हुन सकेको थिएन।

गत ३१ असारमा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आएका थिए। तर, भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले गत १७–२९ मंसिरमा उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए। चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म भारत भ्रमण हुन सकेको छैन।  

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा २२ चैतमा भेटवार्ता भएको थियो। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन गएका दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो। स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए। तर ओली स्वदेश फर्केपछि भारत भ्रमणको चर्चा नै हराएको थियो।

प्रकाशित: ८ असार २०८२ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App