प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ।
बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झन्झटमुक्त बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही जुन ४ गते भएको थियो। आयोगमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय र संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायत सदस्य छन्। आयोगमा राजनीतिक दलबाट दुई, विज्ञमध्येबाट तीन सदस्य (एक महिला) मनोनयन प्रक्रिया पनि अघि बढेको जनाइएको छ।
आयोगले सेवा प्रदायक निकायको भौतिक र मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियामा ढिलासुस्ती नगर्ने, नतिजामूलक र कार्यसम्पादनमा दोहोरोपन हुन नदिने, तहगत र निकायगत अन्तर–समन्वय सुनिश्चित गर्ने कार्यक्षेत्र पाएको छ।
तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्ने सङ्घीयता अनुकूल हुनेगरी विद्यमान प्रशासनिक संरचना, कार्य प्रक्रिया र कानूनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐनकानुनमा सुधारका विषय पहिचान गर्ने, निजामती सेवालाई सक्षम, उच्च मनोबलयुक्त र उत्तरदायी बनाउने जिम्मेवारी पनि आयोगलाई दिइएको छ।
प्रकाशित: ८ असार २०८२ ११:४८ आइतबार





