३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

आज नागार्जुन नगरपालिका वडा नं–४, ५ र ६ स्थित भैरबटोल सितापाईला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार नागरिकहरूका स्वच्छ खानेपानीका अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध रहेको बताए।

उनले भने, 'नागरिकहरूले स्वच्छ खानेपानी र सरसफाइका लागि ठूलो अपेक्षा राख्नुभएको छ। म विश्वास दिलाउन चाहन्छु, हाम्रो मन्त्रालय नागरिकहरूको अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध छ।'

स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोही अनुरूप, खानेपानी मन्त्रालय यस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुच सुनिश्चित गर्न  निरन्तर प्रयत्नशील रहेको उनले जानकारी दिए।

मन्त्री यादवले खानेपानी सेवाको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेको औँल्याए। उनले स्थानीय उपभोक्ता समितिहरूलाई अझ सशक्त बनाउँदै खानेपानी सेवा व्यवस्थापनमा उहाँहरूको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

आगामी वर्षमा देशका प्रमुख सहर तथा ग्रामीण क्षेत्रहरूमा खानेपानी योजना विस्तार, शुद्धीकरण संयन्त्रहरू स्थापना, पाइपलाइन विस्तार र भूमिगत जल स्रोत संरक्षणका कार्यक्रमहरू अघि बढाइने उनको भनाइ छ।

कार्यक्रममा भैरबटोल सितापाईला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुरेशप्रसाद ढुङ्गानाले खानेपानी सेवा प्रवाहमा नागरिक–सरकार सहकार्य अझ सुदृढ भई नागरिकलाई शुद्ध र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा राखे।

कार्यक्रममा नागार्जुन नगरपालिकाका नगरउपप्रमुख शुसिला अधिकारी, जनप्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख पूर्णप्रसाद उपाध्याय, स्थानीय उपभोक्ता, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ७ असार २०८२ २१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App