प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरेका छन्।
‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उनले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको बताए। योग मानव कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य भएको उनको भनाइ छ।
‘योगका आठ सूत्रमध्ये अनुशासन आवश्यक छ। आज नेपाली समाज अनुशासनबाट टाढा छ। अनुशासनबिना ध्यान हुँदैन। असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो। बुद्धिसहितको योग आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले योगलाई दैनिक जीवनसँग जोडेर सबैलाई योगी बनाउन खोजिएको बताए। आरोग्यका लागि खानपान, योग र आरामको सन्तुलनमा ध्यान दिनुपर्ने उनको जोड छ।
‘पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ। डाक्टर र अस्पताल चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ। धेरै डाक्टर उत्पादन गर्छौँ, तर रोगीको सङ्ख्या घटाउनमा ध्यान दिनुपर्छ। त्यसैले निरोगी नेपाल सफल हुन्छ। म प्रधानमन्त्री भएपछि निरोगी नेपालको नारा दिएको हुँ। निरोगी नेपालको अर्थ रोग लाग्नै नदिनु हो,’ उनले भने।
उनले मानिसको जीवनमा अहिंसा, सत्य, अनुशासन र स्वस्थतासहितको खुसी लागू गर्नुपर्ने बताए। ‘आज विश्वलाई शान्ति चाहिन्छ, हिंसा होइन, अहिंसा चाहिन्छ। हतियारधारी र अहङ्कारीले यो बुझिदिए शान्ति हुन्छ। म पवित्र भावले काम गर्छु। मौका पाए देशको सेवा गर्छु, नपाए पवित्र भावना राख्छु। योगले स्वास्थ्य, शरीर, मन र समाजसँग सम्बन्ध राख्छ। योग घरमै बसेर गर्न सकिन्छ। पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,’ उनले भने।
प्रधानमन्त्री ओलीले योग र ब्रह्मचर्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता पूरा नगर्ने नभएको बताए। ‘समाजको मान्यताभित्र बस्नुपर्छ। कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ। ती थितिलाई मानेर समाज सुखमय हुन्छ। मुटुलाई स्वस्थ राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ। त्यसका लागि योग चाहिन्छ। लापरबाही जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डाक्टरकहाँ जानुभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनुपर्छ,’ उनले भने।
उनले संयुक्त राष्ट्रसङ्घले योग दिवस मनाएको दिनमा शुभकामना व्यक्त गरे। ‘नेपालका पुर्खाबाट योगको सृजना भएको थियो। पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ। पानी र हावा पनि देवता हुन्। हामी गर्वमा हुँदा र जन्मपछि पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ। हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौँ। योगमा शक्ति छ। पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ। विश्वामित्रले सर्जरीको विकास गरे। विश्वामित्रले आफ्ना नाति चरकलाई डाक्टर बनाए। चरकले आरोग्य विज्ञानको विकास गरे। विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार गर्यो,’ उनले भने।
उनले जेलमा हुँदा उपचारको अवसर नपाएकाले दुखाइ कम गर्ने औषधि मात्रै दिइन्थ्यो, जसले मिर्गौला फेल भएको बताए। ‘अप्रेसन गर्नुपर्ने अवस्थामा ध्यानले मात्र हुँदैन। योगका नियम र आसनले मात्र हुँदैन। कर्मयोगमा पनि ध्यान दिनुस्। आरामको जिन्दगी होइन, स्वस्थ र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस्। योगले यही सिकाउँछ। समय र परिवर्तन बलवान हुन्छ,’ उनले भने।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्वीय चिन्तन, योग र ध्यान विश्वको साझा जीवन पद्धतिका रूपमा अगाडि बढेको बताए। योगभित्र लुकेका विभिन्न पक्षलाई सांस्कृतिक सम्पदाका रूपमा अगाडि बढाउनुपर्ने उनको जोड छ। नेपालको हिमालय क्षेत्र योग र ध्यानको उद्गमस्थल भएको उनले बताए। विश्वमा शान्तिको आवश्यकता रहेको अवस्थामा योग, ध्यान र वैदिक साहित्यको विकास आवश्यक भएको उनको भनाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको सांस्कृतिक र मौलिक संस्कृति भएको बताए। योगको मूल तीर्थस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर चिनाउन तत्परताका साथ काम गर्ने उनले बताए।
जीवन विज्ञानका योगगुरु प्राध्यापक डाक्टर दीपक रेग्मीले विज्ञानसम्मत पद्धतिमा योग विकास हुँदै गएको र विज्ञानले योगलाई मान्यता दिइसकेको बताए। योग र ध्यान मानव जीवनका लागि अत्यन्तै फाइदाजनक भएको उनको भनाइ छ। पैसाले किन्न सकिने भौतिक सुखभन्दा शारीरिक स्वास्थ्य, आत्मशान्ति र खुसी महत्वपूर्ण भएको र त्यो योग र ध्यानबाट प्राप्त हुने उनले बताए।
समारोहमा जीवन विज्ञान, पतञ्जल योग, पतञ्जल योग समिति, त्रिभुवन विश्वविद्यालय योगविज्ञानका योगगुरु, योगाचार्य, योगार्थी, योगाभ्यास गरिरहेका बालबालिका, ब्रह्मकुमारी राजयोग समितिका व्यक्तित्व, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका व्यक्तित्व, सरकारका उच्चपदस्थ व्यक्तित्वको सहभागिता थियो। हरेक वर्ष जुन २१ मा विश्व योग दिवस र माघ १ मा राष्ट्रिय योग दिवस मनाइन्छ। रासस
प्रकाशित: ७ असार २०८२ १३:२८ शनिबार