३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंमा २४ घण्टा स्वच्छ पानी, मेलम्चीको विकल्प छैन : मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले अब काठमाडौं उपत्यकावासीका घरघरमा २४ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन्।

आज बुढानीलकण्ठ नगरपालिका-४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। 

काठमाडौंवासीले अब वर्षा र हिउँदको कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने र मेलम्चीको पानी दैनिक वितरण हुने विश्वास दिलाए।  

उनले भने, ‘काठमाडौंवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्यांकी निर्माण गरी परीक्षण कार्य पनि सफल भएको छ। अब वर्षायाममा पनि मेलम्चीको पानी निरन्तर काठमाडौंमा वितरण हुने छ।’
  
विगतका वर्षमा माघमा मात्र काठमाडौंमा मेलम्चीको पानी आउने गरेको उदाहरण भए पनि आफूले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोजमै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाइ छ।  

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।  

उनले भने, ‘खानेपानीलाई मानवअधिकारको रूपमा सुनिश्चित गर्दै, पहुँचविहीन बस्तीमा समेत समान पहुँच र गुणस्तर सुनिश्चित गर्ने हाम्रो मुख्य प्राथमिकता हो। सोहीअनुसार हामीले आफ्नो काम अगाडि बढाएका छौं।’  

‘स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ’ को परिकल्पनालाई साकार पार्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना केवल खानेपानी आपूर्तिमा सीमित नरहने र यो आयोजना एक महत्वपूर्ण र रणनीतिक पाइला भएकाले यसले समग्र नगरपालिकाको विकासमा ठूलो योगदान पुर्‍याउने मन्त्री यादवले विश्वास व्यक्त गरे।  

मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै भएको जिकिर गरे। उनले भने, ‘काठमाडौंमा पानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै हो तर वर्षाले मेलम्चीको ढोका बन्द गर्नुपरे यहाँ शिवपुरीलगायतका क्षेत्रबाट पनि थप पानी ल्याई वितरण गरिने छ।’  

काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउन काम र प्रयास भइरहेको भए पनि वन मन्त्रालय र निकुञ्जले विभिन्न कानुनी अड्चन थाप्दा समस्या भइरहेको उनले गुनासो गरे।  

उक्त खानेपानी आयोजनाको निर्माण बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालय, खानेपानी र सरसफाइ डिभिजन नं. ५, बुढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा सम्पन्न भएको जनाइएको छ।  

कार्यक्रममा बागमती प्रदेश खानेपानी र सिँचाइ मन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं. ४ का वडाध्यक्ष राम केसी, खानेपानी र ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, भ्यालीबोर्डका प्रमुख शञ्जिवविक्रम राणालगायतको सहभागिता थियो।

प्रकाशित: ७ असार २०८२ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App