२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

सुवेदीको नेतृत्वसँग सन्तुष्ट छैनन् लिङ्देन-थापा

अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।

राजा फर्काउने उद्देश्यसहित २०८१ चैत ४ गते गठन भएको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति पनि गुमनाम छ, त्यसका संयोजक नवराज सुवेदी पनि बेकाम छन्। जेठ २१ गतेयता समितिले केही गतिविधि गरेको छैन।

समिति यसरी सुस्ताउनुको एक प्रमुख कारण हो- संयोजक सुवेदीको नेतृत्वसँग समितिका पहिलो र दोस्रो ठूलो घटक दलहरू राप्रपा र राप्रपा नेपाल सन्तुष्ट नहुनू। उनीहरूको सिधासिधी निष्कर्ष ८७ वर्षीय महेन्द्रकालीन नेताले अहिलेको आन्दोलन नेतृत्व गर्न सक्दैनन् भन्ने हो। सिधै शब्दमा यसो नभने पनि राप्रपा र राप्रपा नेपालका नेताहरूको अभिव्यक्तिमा त्यो झल्किन्छ।

त्यसो त जतिबेला समिति गठन भयो, त्यतिबेलै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट जनाएका थिए। यतिसम्म कि उनीहरूले सुवेदी नेतृत्वको समितिमा नबस्ने घोषणा नै गरेका थिए तर, त्यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ सक्रिय भएर  सबै नेताहरूलाई सम्झाए। यसपछि लिङ्देन-थापा समितिमा रहन तयार भएका हुन्। तर, तीन महिना बित्दा-नबित्दै समितिभित्र ‘उखरमाउलो’ असन्तुष्टिहरू देखिन थाले। फलत: आन्दोलन निष्प्रभावी बन्यो।

यसबीचमा सुवेदी आफ्नै तवरले चल्न थालेको आरोप राप्रपा र राप्रपा नेपालको छ। हुन पनि यसबीचमा सुवेदीले कतिपय कार्यक्रमका ढाँचा तयार पार्ने काम, विज्ञप्ति निकाल्ने कामदेखि लिएर रणनीतिक बैठकहरू बोलाउने काम राप्रपाका दुई नेतासँगको समन्वयबेगर नै गरे। यसर्थ, लिङ्देन-थापा अहिले असन्तुष्ट बन्दै गएका छन्।

२०८२ जेठ १७ गते काठमाडौंमा प्रदर्शित राजावादी आन्दोलन।

राप्रपाका एक नेता अब पनि समन्वय नहुने हो भने आन्दोलन थप अगाडि नजाने बताउँछन्। ‘उहाँहरूले हामीसँग समन्वय गर्न छाड्नुभएको छ। यो आन्दोलनका लागि राप्रपा अग्रमोर्चामा खटिन सक्छ तर, यही पात्र, प्रवृत्ति र कार्यशैलीबाट भने सम्भव हुँदैन भन्ने हाम्रो निष्कर्ष छ,’ ती नेता भन्छन्। समन्वय नै नगरीकन काम गर्दा आन्दोलन सफल हुन नसकेको पार्टीको निष्कर्ष रहेको राप्रपाका ती नेताको भनाइ छ।

राप्रपा नेपालका एक नेताको भनाइ पनि त्यस्तै छ। समितिमा समन्वयको अभाव भएको सुनाउँदै उनले भने, ‘हुन त व्यक्तिपिच्छेका फरक व्यवहार, कार्यशैली र तौरतरिका हुन्छन्। तर, आन्दोलनजस्तो कुरामा त्यसलाई कार्यशैलीगत त्रुटि मान्न सकिँदैन। समन्वयका हिसाबले एकदम कमी भयो।’

उसो त सुवेदी निकट नेताहरू अहिले आन्तरिक तयारीमा रहेको दाबी गर्छन्। अब फेरि आन्दोलन उठेपछि लक्ष्यमा पुग्नेगरी उठ्ने बताउँछन् समितिका प्रवक्ता स्वागत नेपाल। अन्डाको उदाहरण दिँदै उनले भने, ‘एउटा अन्डालाई आफ्नो तापक्रममा कन्सिस्टेन्सी मेन्टेन गरेर छोपिरहनुभयो भने मात्रै चल्ला निस्किन्छ। उगार्दै हेर्दै, उगार्दै हेर्दै गर्नुभयो भने त्यो कुहिन्छ। यसबाट एउटा चल्ला निस्किन लागेको छ, हामी पूर्ण रूपमा तयारीमा छौँ। र, यसलाई अहिले हामीले खोलेर फेरि हेर्‍यौँ भने चल्ला निस्किँदैन। खोलेर हेर्ने हतारभन्दा चल्ला निस्किन दिनुपर्छ। आन्दोलन अझ बेगका साथ आउँछ।’

अब आन्दोलन कति मात्रामा उठ्छ,देखिएला नै तर, सुरुमा भनिएको र पछि देखाइएको आन्दोलनको स्वरूप र आकार हेर्दा अब आन्दोलन राजा फर्काउने तहमा उठ्छ भनेर विश्वास गरिहाल्न सकिँदैन।

यो पनि पढ्नुहोस्

राजा फर्काउने आन्दोलनमा ‘बर्खा’ बाधक !

 

प्रकाशित: ५ असार २०८२ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App