माथिल्लो मुस्ताङ भ्रमणका लागि विदेशी नागरिकले ५ सय डलर प्रवेश शुल्क तिर्नुपर्ने नियमलाई चिनियाँ पक्षले पुनरावलोकनको प्रस्ताव गरेको छ।
नेपाल सरकार अध्यागमन विभागले लगाउँदै आएको प्रवेश शुल्क महँगो भएको गुनासो गर्दै चिनियाँ सरकारी अधिकारीहरूले नेपाल सरकार समक्ष पुनरावलोकनको प्रस्ताव गरेका हुन्।
नेपालको माथिल्लो मुस्ताङ अर्धनिषेधित क्षेत्र भएकाले १० दिनका लागि ५०० सय डलर तिरी प्रवेश अनुमति लिएर भ्रमणमा जानुपर्ने प्रावधान प्रति चिनियाँ सरकारले पुनरावलोकन गर्न प्रस्ताव गरेको हो नेपालका सरकारी अधिकारीहरूले बताएका छन्।
नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा गरेको अन्तरक्रिया कार्यक्रममा चिनियाँ पक्षले कोराला नाकमा अध्यागमन कार्यालय भएपनि नेपाल प्रवेशको शुल्क महँगो भएकाले नाका चल्न नसक्ने बताएका थिए।
उनीहरुले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेको र जुनसुकै विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम ५०० डलर तिर्नु पर्ने, सोही रकम तिरेरै चीनतिरबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न पनि नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार र क्वारेनटाइन जस्ता सेवा सुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका थिए।
यसमा नेपाली जनप्रतिनिधिहरुले पनि प्रवेश शुल्क महँगो भएकाले यसलाई घटाउने हो भने विदेशी पर्यटकहरू धेरै आउने दाबी गरेका छन्। ‘प्रवेश शुल्क ५०० डलर तिर्नुपर्ने विषयमा चिनियाँ पक्षले महँगो भएकोमा पुनरावलोकन गर्न नेपाल सरकारलाई प्रस्ताव गरेका छन्। साथै नेपाली जनप्रतिनिधिहरुले पनि प्रवेश शुल्ककै कारण विदेशी पर्यटकहरू कम आएको स्वीकार गरेका छन्, यो विषयमा हामी आन्तरिक रुपमा छलफल गरिरहेका छौं,’ ल्हासास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भने।
उनका अनुसार यो विषयमा लोमान्थाङमाभएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाकाबाट व्यापार व्यवसाय गर्ने व्यवसायीहरूले पनि प्रवेश शुल्क पुनरावलोकन गर्ने चिनियाँहरूको प्रस्तावमा नेपाली जनप्रतिनीधिहरुले पनि सहमति जनाएका थिए।
त्यसैगरी जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवीतथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो।
दुवै छलफल कार्यक्रममा सहभागीहरुले कोरोला नाकामा चीनतर्फ अत्यन्त राम्रो पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापित भई सेवा समेत सुचारु गरिसकेका तर नेपालतिर भने प्रदेश सरकारले निर्माण गरेको ४ कोठे प्रिफ्याब भवन रहेको तर पानी र बिजुली जस्ता न्यूनतम पूर्वाधार समेत नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन गरे पनि हालसम्म सेवा सुचारु नभएकाले हुँदा व्यापार व्यवस्थित हुन सकेको विषयमा छलफल गरिएको थियो।
दुवै कार्यक्रमलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत निरौलाले छलफलमा उठेका विषयहरूको समाधानका लागि महावाणिज्य दूतावासका तर्फबाट चिनियाँ र नेपाली दुवै पक्षसँगको समन्वयमा अधिकतम प्रयास गर्ने जानकारी दिएका थिए।
महावाणिज्यदूत निरौलाले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट व्यवस्थापन कार्यालयका उच्च अधिकारीहरूसँग छुट्टै छलफल तथा अन्तरक्रिया गरेका थिए।
सो अवसरमा चीन र नेपाल दुवै पक्षले कोरोला नाका व्यवस्थापनका निम्ति आ-आफ्नातर्फबाट पहल गरी नाकालाई सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अर्धनिषेधित क्षेत्रमा पर्ने माथिल्लो मुस्ताङ सन् १९९२ देखि मात्र विदेशी पर्यटक प्रवेश खुल्ला गरिएको थियो। यो क्षेत्र भ्रमणमा जाने विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर तिर्नुपर्छ। यसअघि ७ सय डलर थियो।
२००९ देखि शुल्क कटौती गरिएको थियो। पर्यटकले १० दिनपछि बसाइ लम्ब्याउन चाहेमा थप ५० डलर दैनिक जरिवाना तिर्नुपर्छ। एकमुष्ट शुल्क बुझाएपछि पर्यटकले एक जना सम्पर्क अधिकृतका साथ भ्रमण गर्न पाउँछन्।
माथिल्लो मुस्ताङमा उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।
मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलहरु रहेका छन्।
म्याग्दी हुँदै सडक र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन्। मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्।
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ। चिनियाँहरू भने मुस्ताङको कोरोला नाका हुँदै प्रवेश चाहेका छन्।
उनीहरुले सहजताका लागि प्रवेश शुल्कमा पुनरावलोकन गर्न माग गरेका हुन्।
प्रकाशित: ४ असार २०८२ १६:०८ बुधबार





