३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

सरकारले ‘वाह!’ हुने काम गर्नुपर्छ : महामन्त्री थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारले ‘वाह!’ हुने गरी काम गर्नुपर्ने बताएका छन्। उनले युद्ध र महामारीको समयमा जस्तै सरकारले तीव्र गतिमा काम गर्नुपर्ने बताएका हुन्।

‘अहिलेको सरकार चलाउने मान्छेले वाह! हुने गरी काम गर्नुपर्ने थियो। किनभने समय नै छैन,’ थापाले शुक्रबार इटहरीमा नेपाल तामाङ धेदुङ संघको कोशी प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्री, मन्त्री, मेयर, वडाध्यक्षलगायत प्रत्येक जिम्मेवारी पाएको व्यक्तिले सोच्नुपर्ने बेला आएको छ।’

अहिलेको अस्थिर समयमा नेपालले पर्याप्त लाभ लिनुपर्ने उनले बताए। ‘यतिबेला इजरायलले इरानलाई हान्यो, भारत–पाकिस्तान, अमेरिका–रुस र अमेरिका–चीनबिच तनाव छ,’ थापाले भने, ‘यो अस्थिरताको बीचमा नेपाल बाठो हुनुपर्छ।’

अस्थिरताको बीचमा नेपाललाई अवसर प्राप्त भएकोले त्यसलाई सदुपयोग गर्नुपर्ने उनले बताए। ‘बंगलादेशका नागरिकहरू यतिबेला उपचार गर्न काठमाडौं आउन थालेका छन्। पहिले उनीहरू भारत जान्थे। भारत र बंगलादेशको तनावका कारण उनीहरू नेपाल आएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाललाई अवसर प्राप्त भएको छ।’

उनले राजनीतिक रूपमा पार्टीका साथीहरूप्रति घेराबन्दी हुँदा स्वाभाविक रूपमा पार्टीले सहयोग गर्ने बताए। ‘यदि गलत भएको बेला भने प्रत्येक व्यक्तिले त्यसको भारी आफैं बोक्नुपर्छ, पार्टीले बोक्दैन,’ उनले भने, ‘संसदमा हाम्रो गृहमन्त्रीप्रति राजनीतिक ढंगले घेराबन्दी भयो, सिंगो पार्टीले गृहमन्त्रीको पक्ष लियो।’

पार्टीले जिम्मेवारी दिएर पठाएका व्यक्तिले जिम्मेवारीपूर्ण काम गर्नुपर्ने उनले बताए। ‘पार्टीका साथीहरूले जिम्मा लिएको ठाउँमा इमानदार पनि हुनुपर्छ, काम पनि गर्नुपर्छ, सेवा पनि दिनुपर्छ,’ उनले भने।

सिंगो पार्टीको शक्ति पाएर जिम्मेवारीमा पुगेका व्यक्तिले महत्वपूर्ण समय खेर नफाल्न उनले सचेत गराए। ‘यदि काम गर्न सकिँदैन भने पदमा बसेको कुनै अर्थ हुँदैन। अहिलेका नयाँ जवानहरूलाई आशा सञ्चार गर्नुपर्छ। जवानलाई लक्षित गरेर काम गरेनौं भने हामी सकिन्छौं,’ उनले भने।

उनले युवा पुस्ता काम गर्न विदेश जाँदा रुवाबासी गर्न नहुने बताए। ‘हाम्रा केटाकेटी बाहिर काम गर्न गएका छन्, यसमा रुवाबासी गर्नुपर्ने छैन। आज नेपाल तन्नेरीहरूको देश हो,’ उनले भने, ‘अहिलेका युवाले काम गरेनन् भने देशलाई पनि बुढ्यौली लाग्छ। तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ।’

विदेशबाट पठाएको रकमको सही सदुपयोग गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनले बताए। ‘अबको १७–१८ वर्षमा नेपाल जवान हुँदैन। खर्बौं रुपैयाँ जवानहरूले बाहिरबाट कमाएर पठाइरहेका छन्। त्यो पैसा कसरी सदुपयोग गराउन सकिन्छ भनेर देश बनाउने मान्छेले सोच्नुपर्छ,’ उनले भने, ‘लुटको धन फुपुको श्राद्धजस्तो गर्नु हुँदैन।’ 

जिम्मेवारी पाएका व्यक्तिले सही ढंगले त्यसलाई उपयोग गर्ने नीति ल्याउन उनले सुझाए।

प्रकाशित: ३० जेष्ठ २०८२ १९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App