प्रतिनिधिसभाको अवरोध हटाएर बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबिच दुई बुँदे सहमति भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतकबिच आज यो सहमति भएको हो। यसअघि प्रतिपक्षी दलहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न सहयोग गरेका थिए।
सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई आयोगले निष्कर्षमा पुर्याउनेछ। उक्त विषयमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।’
दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विगतका समस्याको समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन र छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८२ १६:५४ शुक्रबार





