उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो दल्ने नेकपा बहुमतका केन्द्रीय सदस्य र जिल्ला नेता रहेका छन्।
बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश थारुलाई कालो मोसो दलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
पर्सा प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा प्युठान गौमुखी ६ घर भई हाल ललितपुर कुपन्डोल बस्ने अविनाश भन्ने किशोर कुँवर रहेका छन्। उनी नेकपा बहुमतको केन्द्रीय सदस्य हुन्।
त्यस्तै अर्का पक्राउ पर्नेमा सर्लाही बरहथवा २ बस्ने पदम बहादुर मगर रहेका छन्। उनी नेकपा बहुमतको केन्द्रीय सदस्य इन्चार्ज हुन्। त्योसँगै सिराहा गोल बजार ६ बस्ने गर्भु महतो पनि पक्राउ परेका छन्। उनी सिराहा जिल्ला समिति सदस्य रहेका छन्।
प्रकाशित: २९ जेष्ठ २०८२ १८:१८ बिहीबार