लामो समययता अमेरिका बस्दै आएका कलाकार भगवान् भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित अन्य २० जना युवाका बीचमा नयाँ पार्टी निर्माणबारे गम्भीर छलफल भएको खुलासा गरेका छन्।
भण्डारीले आफ्नो आधिकारिक पेसबूक ह्यान्डलमा लेखेको कुरालाई आधार मान्ने हो भने बालेन-हर्कसहित विभिन्न देशमा बस्ने २० जना युवाका बीचमा नेपालको राजनीतिबारे मात्रै छलफल भएको छैन, नयाँ पार्टी निर्माणबारे पनि छलफल अगाडि बढेको छ।
भण्डारीले सुमना श्रेष्ठलाई संयोजक बनाउने कुरामा पनि लगभग सहमति भएको उल्लेख गरेका छन्। उनले उल्लेख गरेको सुमना श्रेष्ठ पूर्वमन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (पार्टी) की सांसद हुन् या होइनन्, यसबारे छिनोफानो भइसकेको छैन। तर, उनले सुमना श्रेष्ठलाई संयोजक बनाउने कुरामा लगभग सहमति जुटेको बताएका छन्।
‘आज फेसबूक ग्रूपमा जोडिएर नेपालको राजनीतिको बारेमा निकै गम्भीर विषयमा कुराकानी भयो। राजनीतिलाई एकदमै नयाँ शिराबाट उठाएर पुराना भ्रष्टाचारीलाई विस्थापित गर्ने कुरामा सबै सहमत भए पनि हर्कजीको जिद्दीपन अलि बढी नै थियो। बालेनजी सोह्रैआना सहमत हुँदा सबैको समर्थन रह्यो। एकजना संयोजक र सबै सहसंयोजक रहने कुरामा पनि सबैको ताली बज्यो, सुमना श्रेष्ठ संयोजक हुने कुरामा केही असहमति देखिए पनि समग्रमा सबैको समर्थन रहेकोपाइयो,’ भण्डारीले फेसबूकमा लेखेका छन्।

भण्डारीका अनुसार छलफलमा सहभागी भएकाहरू पार्टीको नयाँ नाम राख्नेमा पनि सहमत भएका छन्। ‘२० जना जोडिएर गरेको लगभग ६५ मिनेटको बहस पूर्ण सकारात्मक रहेको महसुस गरेको छु,’ उनले लेखेका छन्।
त्यसो त बालेन र हर्क दुबै नयाँ पार्टी खोल्ने बहसभन्दा टाढा छैनन्। हर्कले त ०८४ को आवधिक निर्वाचनअघि नयाँ पार्टी बनाउने घोषणा नै गरिसकेका छन्। यता बालेनले सार्वजनिक मञ्चहरूमा नबोले पनि त्यसको तयारी गरिरहेको बताइन्छ। के भनिन्छ भने विभिन्न देशमा बस्ने केही युवाहरूले बालेनको नेतृत्वमा पार्टी बनाउनका काम गरिरहेका छन्।
फेरि यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठले पनि पार्टीको सहमहामन्त्री पद भर्खरै त्यागेकी छन्। उनले ‘एक व्यक्ति, एक पद’को नीति रटाउँदै पार्टीको सहमहामन्त्री पदबाट हात झिकेकी छन्।
यही पृष्ठभूमिको सेरोफेरो अमेरिकाबाट आएको यो समाचार कति तथ्यगत छ, देखिँदै जाला। तर, संयोगले सुमना श्रेष्ठ ती नै व्यक्ति हुन्, जसले अमेरिकामा लामो समय बितायो। तर, भण्डारीले उल्लेख गरेको सुमना श्रेष्ठ उनै सुमना श्रेष्ठ हुन् वा होइनन्, यसबारे पुष्टि भइसकेको छैन।
प्रकाशित: २९ जेष्ठ २०८२ १५:२३ बिहीबार