एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा प्राविधिक समूहबाट अध्यक्षमा आंकाक्षी देखिएका छन् । ३२ वर्ष उमेर हद लागेपछि पदाधिकारी मध्ये प्राविधिक समूहका सचिवहरूले अध्यक्षको दाबी गरिरहेका छन् । सचिवहरू दिपक धामी, सुजन कडरिया दुवै प्राविधिक समूहका हुन् । धामीले स्तुपा कलेज बौद्धबाट एचए र बिपिएच अध्ययन पुरा गरेका छन् भने अहिले एलएलबी अध्ययनरत छन् । कडरिया पेसाले चिकित्सक हुन् । डा. कडेरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन् । उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ । त्यसैगरी प्रकाश पौडेल, अन्जना शिवाकोटी, आरती भट्टराई पनि अध्यक्षको दाबी गरिरहेका छन् । महिला अध्यक्ष हुनुपर्ने भन्दै शिवाकोटी र भट्टराई लागिरहेका छन् ।
शिवाकोटी भने रामकुमारी झाँक्री, नविना लामा, सुनिता बरालपछि महिला अध्यक्ष बनेर इतिहास रच्ने बताउँदै आएकी छिन् । उनको अझै अर्को कार्यकालको लागि समेत उमेर भएको हुँदा उनलाई उपाध्यक्ष या महासचिवमा व्यवस्थापन गर्न खोजिएको छ । कराते खेलाडी समेत भएको हुँदा अनुशासित शिवाकोटीले पार्टीको निर्णय मान्छिन्, दायाँबायाँ गर्दिनन् भनेर नै उनलाई अध्यक्ष बाहेक रोजेको पद दिने सम्भावना रहेको नेताहरू बताउँछन् ।
अध्यक्षका दौडमा सबैभन्दा सशक्त दाबेदार धामी, डा. कडरेरिया र पौडेल देखिएका छन् । अध्यक्षको आकांक्षी दिपक धामी सुदूरपश्चिमबाट काठमाण्डौमा उच्च शिक्षा हासिल गर्न आएका हुन् । धामीले डोटीको सीताराम उच्च मावि कक्षा ८ मा पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । काठमाण्डौमा आएपछि स्तुपा कलेज बौद्धको क्याम्पस कमिटीमा सदस्य हुँदै दुई कार्यकाल अध्यक्ष समेत भएका थिए ।
त्यसपछि सिटिइभिटि राष्ट्रिय कमिटिको सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष समेत भएका थिए । नबिना लामा अध्यक्ष हुँदा धामी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि स्थायी कमिटी सदस्य हुँदै २०७९मा अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । धामी एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।
उता कडेरियाले पनि आफू अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, सङ्गठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ गाउँमा पुगेर उपचार सेवा दिएको लगायतका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको बताउँदै आएका छन् ।
आफू फरक विधामा कार्यरत रहेकाले पनि सङ्गठनले नेतृत्वमा विश्वास छन् । ०७३ सालमा नवीना लामा सङ्गठनको अध्यक्ष हुँदा उनी काठमाडौं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए ।
अध्यक्षको आकांक्षी प्रकाश पौडेल म्याग्दी जिल्लाको जनकल्याण मावि पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष, म्याग्दी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य एवम् जिल्ला अध्यक्ष, अनेरास्ववियु केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश अध्यक्ष हुँदै २०७९ अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । उनी सङ्गठनको प्रवक्ता समेत हुन् । तल्लो कमिटीदेखि निरन्तर क्रियाशील रहेको र उमेर हदबारे पहिलो पटक २१ वर्षको उमेरमा नै कुरा उठाएको बताउँदै आएका छन् ।
पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, त्रिविका नेता सिद्धान्त भट्ट, युवा इन्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष समीर रिजाल, अस्कल क्याम्पसस्ववियु अध्यक्ष रुद्रहरी पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, नेपाल कर्मस क्याम्पसका स्ववियु अध्यक्ष विशाल रोकाहा, आरआरका जन्मराज उपाध्याय, पाटनका नितिन पाण्डे, महिला नेतृहरू त्रिवि स्ववियु कोषाध्यक्ष सन्चमाया सुब्बा, त्रिवि स्ववियु सदस्य कल्पना खतिवडा, शंकरदेवकी मुना तिवारी, चक्रवर्ती ल क्याम्पसका बिहानी पँगेनी, नेपाल कर्मस क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी, शर्मीला भण्डारी आदि लबिङमा छन्।
प्रकाशित: २५ जेष्ठ २०८२ १३:०६ आइतबार





