१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एकैदिन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकैदिन १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा चलाएको अख्तियारले शुक्रबार छुट्टै विषयमा १३ जनालाई मुद्दा दायर गरेको हो।

अख्तियारले शुक्रबार जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको चारकोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर वृधन यादव, सवइन्जिनियर शिवराज राई, विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष टीकाराम राई, विद्यालय भवन बनाउने ठेकेदार जयप्रसाद राईविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले विद्यालय भवन निर्माण गर्दा फर्जी बिल भरपाइका आधारमा रकम निकासा गरी २५ लाख ५० हजार रूपैयाँबराबर हिनामिना गरेको अख्तियारको दाबी छ। उनीहरूविरुद्ध २५ लाख ५० हजार रूपैयाँ बिगो कायम गरी कैद र जरिवाना माग गरिएको छ।

यसैगरी अख्तियारले मन्थली नगर विकास समिति रामेछापमा कार्यरत नायबसुब्बा टीकाप्रसाद भट्टविरुद्ध दोहोरो तथा तेहोरो सुविधा लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। कर्मचारीसँगै पत्रकार, सहकारी सञ्चालक, विज्ञापन एजेन्सीको व्यवस्थापक भएर दोहोरो, तेहोरो सुविधा लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा चलाइएको हो।

अस्थायी नायबसुब्बामा कार्यरत उनले स्थायी कर्मचारीसरह गैरकानुनी ढंगले ग्रेड सुविधा लिएको, अस्थायी भएर पनि अनिश्चितकालीन म्याद थपेको, खरिदारबाट नायबसुब्बामा बढुवा लिएको विषयमा अख्तियारमा उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धान हुँदा कैफियत भेटिएपछि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हो।

मन्थली नगर विकास समितिमा कार्यरत भट्टले कार्यालय समयबाहेक अतिरिक्त समयमा अन्य कुनै पेसा तथा व्यवसाय गर्न अनुमति नलिएको र विभिन्न संस्थामा एउटै समयमा काम गरेको भेटिएको छ।

भट्टलाई यस्तो कार्य गर्न, गराउन सघाएको तथा मिलिमतो गरेको पुष्टि भएपछि अख्तियारले अन्य पाँचजनाविरुद्ध पनि मुद्दा चलाएको हो। भट्ट, सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका तत्कालीन कार्यालय प्रमुख अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, तत्कालीन लेखा प्रमुख यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी अख्तियारका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलले दिए।

प्रकाशित: २४ जेष्ठ २०८२ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App