१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेसको नीति तथा कार्यक्रम : 'बच्चा के स्कूल पठाओ, साक्षरता के दीप जलाओ’ देखि 'उद्यमशील महिला, समृद्ध मधेश'सम्म

कृषि,शिक्षा, स्वास्थ्यएवं रोजगार प्राथमिकता

मधेश प्रदेश सरकाराले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख सुमित्रा राजभण्डारीले शुक्रबार (आज) प्रदेश सभाको बैठक सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रमले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा अर्थ्याउँदै ’उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित देशलाई नै आत्मनिर्भर बनाउन ‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राखेको छ।

यस्तै ‘मधेसको शान, स्थानीय मखान’ नाराको साथ मखान खेतीको विकास एवं विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। मधेसलाई सिँचाइमा आत्मनिर्भर बनाउन 'खेत-खेतमा पानी, घर-घरमा खाद्यान्नसहित आम्दानी' नारालाई आत्मसात् गर्ने लक्ष्य सरकारले लिएको छ।

‘आँपको बगैँचा, मधेसको समृद्धि’ नाराको साथमा बृहत् आँपको क्षेत्र विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ‘खेत-खेतमा पानी, घर-घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने सरकारको कार्यक्रम छ।

शिक्षामा अति नै पछाडि रहेको मधेस प्रदेशको शिक्षा क्षेत्रलाई अगाडि बढाउन सरकारले अगामी रणनीति मजबुत बनाएको छ । बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कूल पठाओ, साक्षरता के दीप जलाओ’ नारा दिइएको छ भने शिक्षामै अर्को नारा छ- ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा।'

स्वास्थ्य, शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने नीति सरकारको छ। पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्ण खोप प्रदेश, कुपोषणमुक्त प्रदेश' नारालाई आत्मसात् गरी मातृशिशु स्वास्थ्य प्रवर्द्धन गर्ने 'मेरो स्वास्थ्य, मेरो जिम्मेवारी तथा 'स्वस्थ नागरिक समृद्ध प्रदेश'अभियानलाई प्राथमिकतामा राखिएको छ।

कार्यक्रम सञ्चालन गर्ने 'उद्यमशील महिला, समृद्ध मधेश' नारालाई आत्मसात् गर्दै महिलालाई उद्यमशीलतातिर उन्मुख गराउन प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्तयुवा, समृद्ध मधेस के आधार’ अभियानलाई आत्मसात् गर्दै एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाउने सरकारले लक्ष्य राखेको छ।

रोजगारी वृद्धि गर्न 'श्रमिकलाई सवारी, घर-घरमा रोजगारी' कार्यक्रम पनि ल्याइएको छ। कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकता दिई प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम २६ पृष्ठमा १ सय ८६ बुँदाको रहेको छ।

खेल क्षेत्रलाई प्रवर्द्धन गर्दै खेलाडीको मनोबल बढाउन 'खेली मधेश, जीती मधेश' नारालाई आत्मसात् गरी कार्यक्रम सञ्चालन गरिने छ। यस्तै 'चुरे जोगाउ, मधेश बचाउ', 'मुख्यमन्त्री हरियाली प्रवरद्धन अभियान', 'हरित शहर, स्वच्छ शहर' नाराहरूलाई पनि अगाडि बढाइएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ २१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App