१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

'गणतन्त्रमा गणतन्त्रकै खतरा छ'

हाम्रो पार्टीले चुन्बाङ बैठकमा एउटा कुरा गरेको थियो, त्यसको प्रशंसा गर्न खोजेको होइन है फेरि। यहाँ 'झोले' भन्ने खतरा छ। यो गणतन्त्र एउटा आन्दोलनमार्फत स्थापना गर्ने एउटा प्रक्षेपण गरिरहेका थियौँ, यो गणतन्त्र संसदीय बुर्जुवा गणतन्त्र पनि हुने छैन, यो गणतन्त्र हामी क्रान्तिकारीहरूले भनेजस्तो जनगणतन्त्र पनि हुने छैन। यो गणतन्त्र लोकतान्त्रिक गणतन्त्र हुनेछ। तर, यो लोकतान्त्रिक गणतन्त्रलाई परम्परागत प्रतिक्रियावादी शक्तिहरूले परम्परागत संसदीय गणतन्त्रमा लैजान खोज्नेछन्। हामी जनगणतन्त्रवादी शक्तिहरू निरन्तर जनगणतन्त्रमा लैजानका लागि प्रयासरत रहनेछौँ। पछिल्लो समस्या यही वरपर छ। चाहेको गणतन्त्र कस्तो हो भन्ने विषयको जवाफ पनि यहीँभित्रै छ। 

त्यस पछाडि परम्परागत गणतन्त्रमा तान्ने शक्तिहरू प्रतिगमनतिर गएको जस्तो लाग्छ मलाई। मुख्यत: विचारका हिसाबले र संस्कृतिका हिसाबले पछाडि गएका छन्। त्यसमा त्यो गणतन्त्र विरोधी शक्तिहरू पनि प्रकारान्तरले मिसिएका छन्। अनि यो जनगणतन्त्रतिर लैजाने भनेर प्रक्षेपण गरेको शक्तिमा पनि यही परम्परागत संसदीय गणतन्त्रमा तान्ने शक्तिकै मात्रामा प्रतिगमन भइरहेको छ।

भनेपछि यो गणतन्त्र हामीले चाहेजस्तो गणतन्त्र त हुने करै भएन। त्यसकारण गणतन्त्रमा यहीँ नेरबाट समस्या भएको छ जस्तो लाग्छ। म यही लोकतान्त्रिक गणतन्त्रको मात्रै कुरा गर्छु, त्योभन्दा उन्नत खाले लोकतन्त्रको कुरा गर्दिनँ म। यहीँभित्रै पनि चाहेको गणतन्त्र के हो भने गणतन्त्र आइसकेपछि त्यसका इन्स्टिच्यूसनहरू के हुने भन्नेमा यो गणतन्त्रले काम गरेन। इन्स्टिट्यूसनले काम गर्नुपर्‍यो नि। गरेन, गर्न सकिएन वा गर्न चाहिएन, त्यो के भन्दा हुन्छ। गणतन्त्रपछि बनाउनुपर्ने इन्स्टिच्यूसनहरू जब बनाउँदैनौँ, तिनै गणतन्त्रका विरोधी भएर आउँछन्। आज अदालत गणतन्त्रअनुकूल छ ? सुरक्षा निकायहरू गणतन्त्रअनुकूल छन् ? आजका हाम्रा ब्यूरोक्रेसी गणतन्त्रअनुकूलका छन् ? छलफल भएनन् नि त। न पार्टीभित्र छलफल हुन्छ, न सरकारमा हुन्छ, न राज्यमाथि छलफल हुन्छ। 

हामीले चाहेको के हो त भन्दा एउटा सेवाग्राही एउटा सरकारी कार्यालयमा जान्छ, तातोपानी, चिसोपानीको व्यवस्था हुन्छ, लिन्छ र टीभी हेर्छ। उसैले तिरेको करबाट तलब खाने कर्मचारी आएर त्यो सेवाग्राहीलाई नमस्कार गर्छ, उसको फाइल कहाँ-कहाँ डुलाउनुपर्ने डुलाउँछ र काम सकेपछि त्यो सेवाग्राहीको हातमा दिन्छ र बुवा, दाइ, भाउजू तपाईं जानुस् भनेर नमस्कार गरेर पठाउँछ। यति त हुनुपर्‍यो नि त। यति गर्नका लागि केले रोक्यो भन्दा कर्मचारीतन्त्र भनेको नमस्कार खाने हो, सेवा लिन आउने मान्छेहरूले त्यसलाई नमस्कार गर्ने, खुसी बनाउने हो। अनि यसले गणतन्त्र जोगाउँछ ? फरक हुन्छ ? हुँदैन। यति त गर्न सक्छौँ नि, गर्न सक्नुपर्‍यो नि। मैले सानो उदाहरण दिएको, यहाँ धेरै कुरा छन्। आजको सिडिओ कार्यालयमा हरेक मान्छे हिजोको जस्तै थुरथुर कामेर जान्छ। आज पनि त्यसरी नै जान्छ। कमसेकम आफूलाई लागेको कुरा निर्धक्कका साथ भन्ने, पैरवी गर्ने वातावरण गणतन्त्रपछि बन्यो ? बनेन नि त। यति त बनाउन सक्छौँ नि। हो, यस्ता विषयहरू यो गणतन्त्रअनुकूल भएनन्। 

लेखनाथ नेउपाने।

दोस्रो, भर्खरै बजेट आयो, उदाहरणका निम्ति। बजेट के गरेर आयो भन्दा निजी क्षेत्रलाई के गर्‍यो र गरेन भन्नेमा राष्ट्रिय बहस छ। जनताको तहमा वितरण र पुन: वितरणको हिसाबले बजेट कस्तो भयो भनेर बहस नै छैन। हामीले चाहेको त त्यो होला नि त, आज यहीँभित्र पनि ? वितरण र पुन: वितरणको कुरा; त्यो पनि कम्युनिष्ट अर्थमन्त्रीले ल्याएको बजेट यति त हुनुपर्ने होला नि त। मैले दश गाउँ डुलेर हिजो बेलुका मात्रै आएको, मैले देखेको छु। गणतन्त्रभन्दा अगाडि, आज गणतन्त्र आएको १८ वर्ष भयो, संविधान आएको एक दशक भयो, त्योभन्दा अगाडि जनताको अवस्था जस्तो थियो, आजसम्म पनि कपालको रौँजति पनि परिवर्तन भएको छैन। अनि हामी यहाँ बसेर गणतन्त्रचाहिँ पूरै सुरक्षित भएको छ भनेर गफ दिने कुराले गणतन्त्र सुरक्षित हुन्छ जस्तो मलाई लाग्दैन।

गणतन्त्रका तीनवटा कुराहरू भन्छु म। एउटा, गणतन्त्र नचाहने राजा, महाराजा र रैतीहरूको कुरा आयो, तिनीहरूबाट अलिलि हल्ला भएको छ, यताको असन्तुष्टि उता पोखिएको छ, एउटा चुनौती त हो नै फेरि, हामीले मान्नुपर्छ। दोस्रो, चुनौती गणतन्त्रअनुकूल नभएका इन्स्टिच्यूसनहरू छन्। त्यो चुनौती हो, त्यसले जुलुस निकाल्छ, अस्ति निकाल्यो एउटा, कुलीन परियडको बारेमा। सरकार त्यो बेठीक हो भन्न सक्दैन। त्यहाँ चुनौती छ। तेस्रो, जसरी वामपन्थीहरूबाट चुनौती छ भनेर हामीले बहस गरिरहेका छौँ, गणतन्त्रमा गणतन्त्रकै खतरा देखिरहेको छु। यी तीनवटै चुनौतीहरू एक ठाउँ आए भने के हुन्छ ? अहिले लगभग फरक-फरक ठाउँमा छन्। एकै ठाउँमा आए भने के हुन्छ भन्ने विषयवस्तु आज छलफल गर्नुपर्ने छ। 

हामीले गम्भीरतपूर्वक छलफल गर्नुपर्ने यहीँनेर हो। गणतन्त्रलाई राम्रो बनाउनका लागि यसका इन्स्टिच्यूसनहरूलाई राम्रो परिवर्तन हुनुपर्ने छ। र सेवकका रूपमा यसलाई कार्य-सांस्कृतिक रूपले विकास गर्नुपर्ने छ। गणतन्त्रअनुकूल पार्टीहरू बनाउनुपर्ने छ, त्यहाँको हुर्काइको संस्कृति बनाउनुपर्ने छ हामीले। म जन्मिएकै वर्ष महामन्त्री रहेका कांग्रेस नेताहरू अहिले पनि महामन्त्री छन्, नेता छन्, अनि के हो यो ? अनि कहिल्यै रिटायर्ड हुनुपर्दैन ? त्यसो भए कर्मचारीलाई किन रिटायर्ड गरिरहने ? यसको निष्कर्ष त यही त आउँछ नि। हरेक १० वर्षमा सोच्ने तरिका सिफ्ट हुँदै जान्छ। सायद त्यसैले पश्चिमाहरूले बढीमा दुई कार्यकाल भन्छन्। तेस्रो कार्यकालमा केही गर्न सक्दैनन्। इमान्दार छ भने जान्छ, बेइमानी छ भने खाँडलमा हाल्छन्। पार्टीभित्र होस् वा राज्यभित्र, त्यति त हामी पनि मानिथ्यो होला। पूरै आदेश छ, कसैको सुन्नु छैन, जसले गीत गाएको छ, उसलाई बढुवा गरेको छ, अनि मार्क्सवाद भनेको छ। हजारथरी मार्क्सवाद जन्मियो नि त यहाँ त। अब कुन मार्क्सवाद भन्ने भइसक्यो यहाँ त। त्यसैले स्वार्थ र पूर्वाग्रह नराखीकन सबै विषयवस्तुमा छलफल गर्नुपर्छ, आलोचना गर्नुपर्छ। आलोचना गोलीजस्तो हुनुपर्छ। हँ हँ हजुर, हँ हँ हजुर भनेर हुँदैन।

(शुक्रबार काठमाडौंमा आयोजित 'आएको गणतन्त्र, चाहेको गणतन्त्र' विषयक अन्तरक्रियामा माओवादी केन्द्रका नेता लेखनाथ नेउपानेले राखेको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित: २३ जेष्ठ २०८२ २०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App