नेकपा (एकीकृत समाजवादी) ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरिएको प्रतिक्रिया दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाबारे प्रारम्भिक धारणा सार्वजनिक गर्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालविरुद्ध षड्यन्त्र गरिएको प्रतिक्रिया दिएको हो।
राजनीतिक पूर्वाग्रहका हिसाबले पार्टी अध्यक्षमाथि मुद्दा चलाइएको उल्लेख गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने, 'यसको प्रतिवाद गर्छौँ। मुद्दा परिसकेपछि हामी भाग्दैनौँ। नडराउनु, नबिराउनु भनेर पार्टी अध्यक्ष प्रारम्भिक प्रतिक्रिया दिइसक्नुभएको छ। हाम्रो अध्यक्षले भ्रष्टाचारजन्य कुनै काम र आर्थिक चलखेल गर्नुभएको छैन।'
बिहीबार (आज) बसेको आकस्मिक बैठकपछि प्रवक्ता ज्वालाले थपे, 'शिर ठाडो पारेर यसलाई पराजित गर्न सक्छौँ। अदालती रूपमा सम्पूर्ण कुरा गर्छौँ। अदालतबाट क्लीन चिट लिएर आउँछौँ। खारेज भयो भनेर फर्किन्छौँ।'
प्रकाशित: २२ जेष्ठ २०८२ २०:०० बिहीबार





