प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन्।
त्यसकारण अहिले संसदीय वा न्यायिक समिति बनाउन नपर्ने उनको भनाइ छ। अख्तियारमाथि भरोसा गर्नुपर्ने उल्लेख गर्दै शर्माले भने, 'अख्तियारलाई भरोसा गरौँ, छानबिनको दायरामा जो-जो पर्नुहुन्छ, त्यहाँ देखिहालिन्छ।'
अगाडि उनले थप उदाहरण दिए, 'पर गेटमा छानबिन हुँदैछ भनेर भित्र रहेको मान्छेलाई तपाईं नै दोषी हो भन्यौँ भने, कुनै रिपोर्टर साथीले लेखेको समाचारका विषयमा रिपोर्टर साथी जति जिम्मेवार बन्नुहुन्छ, निश्चय नै त्यो संस्था पनि जिम्मेवार बन्छ। तर, रिपोर्टर साथीलाई मुद्दा लाग्दै गर्दा सम्पादकलाई गिरफ्तार गरिँदैन। पहिले सम्पादकको टेबुलमा पुग्नेगरी अनुसन्धान भइरहेको छ।'
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका दलहरूले उक्त प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति बनाइनुपर्ने माग गरेका छन्। यही सन्दर्भमा मङ्गलबार (आज) दिउँसो संसद् भवनबाहिर सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन्।
प्रकाशित: २० जेष्ठ २०८२ १४:५३ मंगलबार





