१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल

मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित छलफल भएको छ।

राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गरेको स्वागत भोज समारोहमा दुवै पक्षबिच रोजगार र श्रमिक समस्याको विविध आयामबारे छलफल भएको हो।

छलफलमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गरेका छन्।

राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूतावासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता जाहेर गरे।

उक्त स्वागत समारोहमा मलेसियन दूतावास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौंका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष बिनोदकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १९ जेष्ठ २०८२ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App