नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयास गरेको बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट समीक्षा, कार्यान्वयनका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रको सङ्कट समाधानमा केन्द्रित भएको र निजी क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए।
पोखरेलले अर्थ मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय र सहकार्य अपेक्षित रूपमा नभएको बताए। ‘अर्थ मन्त्रालय बजेट ल्याउने र नियन्त्रण गर्ने मात्र ठाउँ होइन, बजेट कार्यान्वयन गर्ने निकाय पनि हो। अन्य मन्त्रालयसँगको समन्वयमा केही कमी छ,’ उनले भने।
उनले अनौपचारिक अर्थतन्त्रले नेपालको आर्थिक गतिविधिमा प्रभाव पारेको भन्दै यसलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेको बताए। अनौपचारिक अर्थतन्त्रले घरजग्गा कारोबारमा सबैभन्दा बढी प्रभाव पारेको उनको भनाइ छ।
अनौपचारिक अर्थतन्त्रले घरजग्गा कारोबारमा बढेको आकर्षणले आजको अवस्था आएको भन्दै उनले घरजग्गामा गरिएको लगानीले सबै क्षेत्र अस्तव्यस्त भएको बताए।
पोखरेलले पुँजी बजारले नेपालको अर्थतन्त्रलाई प्रभावित गरेको र अनौपचारिक अर्थतन्त्रले पुँजी बजारमा अस्वाभाविक उतारचढाव ल्याएको बताए। उनले शासकीय क्षमता बढाउन कानुन सुधार आवश्यक रहेकोमा जोड दिए।
‘हरेक निकायले कानुन सुधारमा ध्यान दिनुपर्छ। ती सेवा र सुशासनमुखी हुनुपर्छ। नेपालमा बनेका कानुन विकासमैत्री र सेवामैत्री छैनन्,’ उनले भने। उनले देश निर्माणका लागि प्रशासनिक संयन्त्रमा सुधार आवश्यक रहेको बताए।
समयमा काम नहुँदा नेपालमा भ्रष्टाचार बढेको उनको भनाइ छ। उनले काम ढिलो हुँदा लागत बढ्ने र भ्रष्टाचार तथा कमिसनको सम्भावना रहने भन्दै सेवा पारदर्शी र छिटो हुनुपर्ने बताए।
परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बजेट जनमुखी भएको भन्दै प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरे। उनले बजेटले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे। रासस
प्रकाशित: १६ जेष्ठ २०८२ २०:४४ शुक्रबार





-600x400.jpg)