१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बजेट भाषण मिति सार्न एमालेको प्रस्ताव

नेकपा एमालेले बजेट भाषणको मिति सार्न प्रस्ताव गरेको छ। गणतन्त्र घोषणाको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र उत्सवको रुपमा मनाउनुपर्ने भएकाले संविधानमा भएको बजेट भाषणको मितिलाई संशोधनमार्फत सार्न प्रस्ताव गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन भएकाले यसलाई विशेष महत्व दिएर मनाउनुपर्ने बताउँदै बजेट भाषणको मिति सार्न प्रस्ताव गरेका हुन्। ‘बजेट भाषणको मिति सारेर १५ जेठलाई गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउनेगरी संविधान संशोधन गर्न सकिनेछ,’ महासचिव पोखरेलले भने।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक दलहरूबिच सहमति गरेर १५ जेठमा गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने व्यवस्था संविधानमा लेखेर बजेट ल्याउने मिति परिवर्तन गर्न सकिने बताएका हुन्। उनले अन्य मुलुकमा पनि गणतन्त्र स्थापनालाई राष्ट्रिय उत्सवकै रूपमा मनाउने अभ्यास रहेको बताउँदै एमालेले आयोजना गर्ने गणतन्त्र जन्मोत्सवलाई साझा राष्ट्रिय कार्यक्रमका रूपमा लिएर सहभागी हुन सबै दलका नेता–कार्यकर्ता र आमजनसमुदायलाई अपिल गरेका छन्।

एमालेले बिहीबार भृकुटीमण्डपदेखि रत्नपार्कसम्म जनजाति र अल्पसंख्यकहरूको पहिचानसहित सांस्कृतिक झाँकी प्रस्तुत गरेर गणतन्त्र जन्मोत्सव मनाउने तयारी गरेको छ। महासचिव पोखरेलले २०४६ सालको परिवर्तन र गणतन्त्र स्थापनापछि देशको विकासमा भएको परिवर्तनबारे जानकारी गराएका थिए। गणतन्त्रलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश एमालेले दिन चाहेको उनले बताए।

‘संविधानसभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्रले संविधान र लोकतन्त्रको विरोधमा गतिविधि गरिरहेको हामीले देखिरहेका छौं,’ उनले भने, ‘यस्तो अवस्थामा हामी जेठ १५ लाई गणतन्त्र उत्सवमा मनाउने तयारीमा छौं।’ उनले सांस्कृतिक झाँकीसहित गणतन्त्र उत्सव मनाइने बताए। ‘हाम्रो देश भाषिक, जातीय र सांस्कृतिक विविधतायुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई जनउत्सवका रुपमा प्रकट गर्न चाहन्छौं,’ उनले भने, ‘यसले एउटा विशिष्ट छाप छाडने छ।’

पोखरेलले मुलुकको सबै ध्यान राजनीतिक व्यवस्थामा पुगिसकेकाले अबको ध्यान विकास र समृिद्धको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक दलबीच सहमति भयो भने संविधानमासमेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष बनाउनेगरी बजेट प्रस्तुत गर्ने दिन अर्को तोक्न सकिने बताए। ‘जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो, जनअधिकारलाई स्थापिति गर्ने काम गर्यो, त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ,’ उनले भने, ‘त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुशीयालीको माध्यमबाट प्रकट गर्नुपर्छ। हामीले कसैको विरोध होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रुपमा गणतन्त्र दिवस कार्यक्रम गर्न लागेका हौं।’

प्रकाशित: १४ जेष्ठ २०८२ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App