राजतन्त्र र हिन्दु राष्ट्र स्थापना तथा संघीयता खारेजीको माग राख्दै आफूहरूले जेठ १५ देखि आयोजना गर्न लागेको ‘जनआन्दोलन’ ‘शान्तिपूर्ण सत्याग्रह’ रहेको आयोजक नेताहरूले बताएका छन् । आन्दोलनको दुई दिनअघि मंगलबार राजधानीमा सम्पादकहरूसँगको भेटमा उनीहरूले हिंसात्मक गतिविधि नगर्ने विश्वास दिलाएका छन् ।
‘आन्दोलनका कार्यक्रमहरू पूर्णतः शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुनेछन्,’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हाम्रो तर्फबाट हिंसा भड्काउने कुनै पनि क्रियाकलाप हुँदैन ।’
राजतन्त्र स्थापना अभियानलाई नेतृत्व गरिरहेका तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताले आसन्न आन्दोलनको औचित्यबारे प्रस्ट्याएका थिए । सबै नेताले शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रम अगाडि बढाउने धारणा दोहोर्याए ।
संघीयताको विरोध भनेको संविधानविरोधी कार्य नभएको चर्चा गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कमल थापाले संविधान पारित गर्ने बेलामा विपक्षमा मतदान गरे पनि पछि त्यसको प्रतिरक्षामा काम गरेको समेत बताए । संविधानले दिएको अधिकार प्रयोग गरेर राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा आफूहरू उभिएको उनले उल्लेख गरे ।
पार्टी निर्वाचन आयोगमा दर्ता गर्नेदेखि निर्वाचनमा जनतामा जाँदा समेत आफूहरू राजतन्त्र र हिन्दु राष्ट्र स्थापनाकै निम्ति भनेर गएको थापाले बताए । सरकारका प्रवक्ता सञ्चार तथा सूचनामन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने’ भनी दिएको धारणाको पनि उनले प्रतिवाद गरे । ‘संविधानले कुनै दललाई प्रतिबन्ध लगाउन पाइनेछैन भनेको छ,’ उनले भने, ‘हाम्रो आन्दोलन नितान्त शान्तिपूर्ण हुन्छ । यसलाई भद्र आन्दोलनका रूपमा अगाडि बढाउँछौं । प्रहरी प्रशासनसँग कहीँकतै भिडन्त गर्दैनौं ।’ उनले थपे, ‘यति धेरै मानिस सडकमा उत्रनेछन्, त्यही बलमा सरकारलाई वार्ताको माध्यमबाट समझदारीमा ल्याउनेछौं ।’
देश खतरामा पर्ने भएपछि
राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले १८–२० वर्षयता संघीयता खारेज नभए र राजसंस्था तथा हिन्दु धर्म पुनस्र्थापना नभए देश खतरामा पर्छ भनेर आफूले अभियान चलाएको बताए । अब राष्ट्रलाई संकट परेका बेला पत्रकार, कर्मचारीदेखि सबैले हातेमालो गर्नुपर्ने भएकाले यो अभियानमा उपस्थित भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेकपा एमालेका कार्यकर्तालाई सडक कब्जा गर्न निर्देशन दिएपछि आयोजित यस कार्यक्रममा उनीहरूले पर्याप्त मात्रामा आफ्नो आन्दोलनको सकारात्मक पक्षबारे चर्चा गरेका थिए । ‘यो भद्र अवज्ञा आन्दोलनमा खतरा आइपरेजस्तो लागेर यहाँहरूलाई सहयोगका निम्ति अपिल गर्न निमन्त्रणा गरेका हौं,’ उनले भने ।
त्यसैगरी आन्दोलनका संयोजक सुवेदीले पनि आन्दोलन अहिंसात्मक हुने ठोकुवा गरे । ‘सरकारको रवैया ठिक छैन । अहिले त्यस्तै अभिव्यक्ति प्रधानमन्त्रीबाट पनि आएका छन्,’ उनले पत्रकारहरूसँग आग्रह गर्दै भने, ‘यो शान्तिपूर्ण आन्दोलन हो, साक्षीका रूपमा तपाईंहरूले हेरिदिनुपर्छ । धेरै पत्रकारहरू विभिन्न विचारधारका हुनुहुन्छ । तैपनि यथार्थको पक्षमा तपाईंहरूले साथ दिनुहुनेछ ।’
‘आन्दोलन हाम्रै हातमा’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन जतिसुकै विशाल भए पनि त्यो आफ्नै हातमा हुने बताए । ‘हाम्रो तर्फबाट हिंसा भड्काउने कुनै पनि काम हुँदैन,’ उनले भने । आन्दोलन रत्नपार्क क्षेत्रमै गर्ने आफूहरूको तयारी रहेको उनले बताए । सरकारले भने त्यो दिन आन्दोलनकारीलाई चक्रपथबाहिरै राख्न चाहेको चर्चा पत्रकारहरूले गरेका थिए । ‘त्यही भएर हामीले तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ उनले भने ।
दुई तिहाइ ल्याएर तपाईंहरूले खोजेको राजतन्त्र र हिन्दु राष्ट्र स्थापना गर्न संविधानले अधिकार दिँदादिँदै किन आन्दोलन गर्नुप¥यो भन्ने प्रश्नको जवाफमा लिङ्देनले भने, ‘अहिलेको निर्वाचन प्रणालीमा अपवादका रूपमा बाहेक दुई तिहाइ ल्याउन परिकल्पना गर्न सकिन्न ।’ २००७, २०४६ र २०६२÷६३ सालका राजनीतिक परिवर्तन कुनै पनि मतपत्रबाट नभएको तर्क गर्दै लिङ्देनले आधारभूत परिवर्तन गर्न जनतामै पुग्नुपर्ने स्पष्ट पारे । ‘अहिले ठिक बेला आयो भनेर जनआन्दोलन घोषणा गरेका हौं,’ लिङ्देनले भने, ‘यो सत्याग्रह मोडलमा हुनुपर्न भनेर सडकको बाटो पक्रेका हौं ।’
अहिले संसद्लाई पनि आन्दोलनकै अंगका रूपमा उपयोग गरिरहेको लिङ्देनले स्पष्ट पारे । संसद्बाट मात्र नपुग्ने भएकाले फरक मतलाई बलियो बनाउन सडकलाई उपयोग गरेको उनको भनाइ थियो ।
समस्या नेतृत्व पनि व्यवस्था पनि
राप्रपा अध्यक्ष लिङ्देनले अहिले मुलुकमा देखिएका समस्या नेतृत्वमा मात्र नभई व्यवस्थामा पनि रहेको बताए । ‘भ्रष्टाचार गर्ने नेताले हो,’ उनले भने, ‘तिनलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत हुन् तर त्यहाँ तिनै नेताले नियुक्ति गरेका व्यक्ति बसेका छन् ।’ यसकारण व्यवस्थामा सुधार र परिवर्तन आवश्यक रहेको लिङदेनको तर्क थियो ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा सत्ता कब्जा गरेर जनतालाई दुःख दिएको प्रसंगमा पनि लिङ्देनले धारणा राखे । ‘हामीले माघ १९ को कु गर्नेजस्तो राजा ल्याउन खोजेका होइनौं, हामीले प्रस्ट भनेका छौं,’ उनले भने, ‘राजसंस्था र लोकतान्त्रिक गणतन्त्र पक्षधरबाट पनि भएका कमीकमजोरी सच्याएर नयाँ व्यवस्था ल्याउनुपर्यो ।’ उनले थपे, ‘यहाँ अब राजा र गणतन्त्रवादीहरू एक ठाउँमा बसेर समझदारी गर्ने हो ।’
माघ १९ सम्झिँदा भोग्नेलाई त्रास हुने र गणतन्त्रमा पनि सत्ताको दुरुपयोग र गल्ती भएका छन् भन्दै लिङ्देनले घटनाबाट पाठ सिक्न आग्रह गरे । ‘दुनियाँका सबै देश बन्ने तर नेपाल नबन्ने भन्ने हुनै सक्दैन,’ उनले भने, ‘हामीले कुनै राजनीतिक स्वार्थले राजतन्त्र र हिन्दु राष्ट्र चाहिन्छ भनेका होइनौं ।’ मुलुकमा भोटको राजनीतिभन्दा माथि एउटा संस्था चाहिने भएकाले राजसंस्थाको वकालत गरेको लिङ्देनले बताए ।
राप्रपा नेपालका अध्यक्ष थापाले जनआन्दोलन पनि एउटा विधि र प्रक्रिया भएकाले यसैका माध्यमबाट नयाँ समmझदारीमा जान चाहेको बताए । ‘कतिपयलाई गणतन्त्र र कतिपयलाई राजतन्त्र ठिक लाग्छ,’ उनले भने, ‘यो फरक–फरक विचारको प्रतिस्पर्धा हो ।’ अहिले को राजा हुने भनी पात्रको विषयमा छलफल गरिनरहेको चर्चा गर्दै थापाले राजसंस्था व्यक्ति नभई संस्था भएको उल्लेख गरे । माघ १९ एउटा कालखण्डमा घटेको घटना भएकाले विगतका तितामिठा घटनाबाट पाठ सिकेर अघि बढ्नु उपयुक्त हुने उनको भनाइ थियो ।
प्रकाशित: १३ जेष्ठ २०८२ १९:०७ मंगलबार





