चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा १ खर्ब ७ अर्ब वजेट भएको सडक विभागमा नेतृत्व फेरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले सोमबार विभागका महानिर्देशक रामहरि पोखरेललाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा. विजय जैशीलाई ल्याएका छन । जैशीले सोमबार नै कार्यभार सम्हालेका छन् । जैशी यसअघि विभाग मातहत बैदेशिक महाशाखाको महाशाखा प्रमुख थिए ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री दाहालकै चाहनामा विभागमा महानिर्देशक फेरिएका हुन् । भौतिक सचिव केशव शर्मालगायत केही उच्च कर्मचारीहरूले आर्थिक वर्ष सकिने बेला विभागमा नेतृत्व फेर्दा गलत सन्देश जाने भन्दै आर्थिक वर्ष सकिए पछि मात्र डिजी फेर्न मन्त्रीलाई सुझाव दिएका थिए । ‘तर मन्त्रीज्यू डिजी फेर्ने अडानमा अलिकति पनि लचक हुनु भएन’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।
मन्त्री दाहालको सचिवालयमा कार्यरत एक कर्मचारीले भने कामको गति देखाउन आर्थिक वर्ष सकिनै लाग्दा महानिर्देशक परिवर्तन गर्नु परेको बताए । ‘मन्त्रीज्यूलाई प्रगति बढाउन दबाब आएको छ। प्रगति देखाउनकैलागि डिजि फेर्नु भएको हा’ उनले भने ।
मन्त्री दाहालले निवर्तमान महानिर्देशक पोखरेललाई मन्त्रालयमा सरुवा गरेका छन् । हाल योजना महाशखाामा कार्यरत उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा लगिएको छ । जैशीभन्दा उमेशविन्दु वरिष्ठ भएकोले कनिष्ठको मातहतमा वरिष्ठ बस्न नमिल्ने कारण देखाउँदै उमेश विन्दुलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
डा. जैशीको ठाउँमा हाल सम्भार महाशाखामा कार्यरत अर्जुन अर्याललाई लगिएको छ भने उमेश विन्दुको ठाउँमा मन्त्रालयबाट प्रभात झालाई लगिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सपुरिटेडेण्ठ इञ्जिनियर (सहसचिव सरह)मध्ये पहिलो नम्बरमा भिमार्जुन अधिकारी, दोस्रोमा सुशील बाबु ढकाल, तेस्रोमा रामहरि पोखरेल, चौथौमा उमेश विन्दु श्रेष्ठ, पाँचौमा भुवन अधिकारी (मेकानिकल) तथा छैटौ नम्बरमा वनमा नियुक्त डिजी जैशी कार्यरत छन् । जैशी र प्रभात झा एउटै व्याचका कर्मचारी हुन् । छैटौ नम्बरमा जैशी महानिर्देशक भइसक्दा पनि पहिलो नम्बरका सहसचिव अधिकारीले भने अहिलेसम्म सडकको महानिर्देशक बन्ने अवसर पाएका छैनन् ।
मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।
विभागले अहिलेसम्म विनियोजित बजेटको ५० प्रतिशतपनि खर्च गर्न सकेको छैन । आर्थिक वर्षको बाँकी डेढ महिनामा एकै पटक ठुलोमात्रामा बजेट खर्च हुँदैछ ।
प्रकाशित: १२ जेष्ठ २०८२ १६:२९ सोमबार





