राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने बयानको कडा आलोचना गरेका छन्।
उनले यो अभिव्यक्तिलाई गैरलोकतान्त्रिक, कानुनी शासनविपरीत र सामाजिक सद्भावमा खलल पुर्याउने खालको भन्दै गम्भीर असन्तुष्टि र चिन्ता व्यक्त गरेका हुन्।
झाले लोकतन्त्रमा ‘सडक मेरो मात्र हो’ भन्ने अभिव्यक्ति बहुलवाद र सहअस्तित्वको सिद्धान्तविपरीत भएको कुरा स्मरण गराएका छन्। प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेको व्यक्तिले अन्य दलको प्रदर्शनविरुद्ध कार्यकर्तालाई उकास्नु कानुनी शासनको उल्लंघन भएको उनको तर्क छ।
प्रवक्ता झाले देश आर्थिक संकट र नैराश्यले ग्रस्त हुँदा यस्ता अभिव्यक्तिले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनी समेत दिएका छन्। नयाँ काण्डहरू उजागर भइरहेको बेला सरकारको नेतृत्वले जिम्मेवार जवाफ दिनुको सट्टा उदण्डता भड्काउने अभिव्यक्ति दिनु दुखद भएको समेत उनले उल्लेख गरेका छन्।
अर्कोतिर १५ जेठमा राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्रीको उक्त बयानको विरोध गरेको छ। राप्रपाले यो अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्यमान्यतामाथिको आक्रमणको रूपमा लिएको छ।
उनले लेखेका छन् :
हिजो सार्वजनिक भएको प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गैर राजनीतिक छ।
१) लोकतन्त्रमा "सडक मेरो मात्र हो, त्यहाँ मेरो मान्छे मात्र हुनुपर्छ" भन्नु लोकतन्त्र, बहुल वाद र सहअस्तित्वको अभ्यास विपरीत हो।
२) प्रशासन तथा सुरक्षा निकायको संवैधानिक नेतृत्व गरेर बसेको व्यक्तिले अर्को राजनीतिक दलले गर्न लागेको प्रदर्शनमा कार्यकर्तालाई उकास्ने गरी बोल्नु, कानुनी शासनको अभ्यास विपरीतको व्यवहार हो।
३) देश आर्थिक रूपमा ऋणको भारीले दबेको छ। बजार अर्थतन्त्र सबै कमजोर छ, जनतामा नैराश्य हाबी छ, तर प्रधानमन्त्रीज्यू यस्तो बेला कार्यकर्तालाई उद्दण्ड हुन प्रेरित गरेर सडकमा द्वन्द्व सृजना हुने अभिव्यक्ति दिनुहुन्छ। यो राम्रो हैन।
४) हरेक दिन नयाँ र फरक काण्डहरू आइरहेको छ। सरकारको नेतृत्वमा रहेको व्यक्ति, त्यो प्रश्नको जवाफ दिनको सट्टा, सडकमा राजनीतिक उदण्डता थप्ने अभिव्यक्ति दिनुभएकोमा प्रति म व्यक्तिगत रूपमा असन्तुष्टि र गम्भीर चिन्ता व्यक्त गर्दछु।
प्रकाशित: १२ जेष्ठ २०८२ ११:१२ सोमबार





