१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

युवा संघमा थेवे र पुरीबीच प्रतिस्पर्धा, दुबै शक्ति प्रर्दशनमा

नेकपा (एमाले) शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालको दशौं महाधिवेशनमा नेतृत्वका लागि शक्ति प्रर्दशन हुन थालेको छ । निवर्तमान अध्यक्ष क्षितिज थेवे र सुमन पुरीबीच नेतृत्वको लागि शक्ति प्रर्दशन हुन थालेको हो । शनिबार साँझ र आइतबार बिहानदेखि पोखरामा दुवै पक्षले आ-आफ्ना कार्यकर्ता उतारेर शक्ति प्रर्दशन गरेका हुन् ।  

देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ । एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गर्न निर्देशन दिइसकिएको छ । नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेका छन् । संघको यही ९ गतेदेखि ११ गतेसम्म पोखरामा दशौँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भएपनि महाधिवेशन लम्बिएको छ ।  

यसपटक अध्यक्षमा उपाध्यक्षहरूले दाबी गरिरहँदा पार्टीको नेतृत्वले भने वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्‍याउने गरी छलफल थालेको थियो । तीन उपाध्यक्ष र एक महासचिवले अध्यक्षमा आकाङ्क्षा देखाए पनि महासचिव पुरीले निर्वाचन नै लड्ने गरी तयारी थालेपछि सर्वसम्मतिको प्रयास विफल भएको छ 

पार्टीले संगठनलाई आगामी निर्वाचनसम्म चलायमान बनाउनु पर्ने भन्दै थेवेलाई दोहोर्‍याउन लागेको हो । थेवे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको नेतृत्वको बुझाइरहेको छ । उनले ओली कप गरेर खेलकुदको माध्यमबाट युवा संघलाई चिनाएको, एआई सम्मेलन गरेर युवाहरूको माझमा परिचित गराएको भन्दै नेताहरू सकारात्मक बनेका छन् । तर, उनी दोहोरिँदा युवा संघमा नेतृत्व जाम हुने विषयलाई भने पार्टी नेतृत्वले प्रष्ट्याउन सकेको छैन ।

नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी र महाराज गुरुङ, प्रकाश गौतम भएपनि पुरी मात्रै निर्वाचनमा जाने गरी तयारी अवस्थामा लागेका छन्। युवा संघका पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको बोलवाल चल्ने गरेको छ । उनकै रुचिका व्यक्ति युवा संघको नेतृत्वमा आउने पनि चर्चा थालिएको छ । उनी अहिले थेवेलाई सर्वसम्मत गर्ने पक्षमा उभिएका छन् ।

तर, पुरीले आफ्नो ऊर्जावान् जीवन युवा संघमा बितेका कारण एक पटक नेतृत्व गर्ने चाहना राखेका बताउँदै निर्वाचन प्रकृया थाल्न आग्रह गरेका छन् । पुरी महासचिव भएका कारण नेतृत्वको दाबेदारमा रहेका छन् । उनले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै आएका छन् ।  

एमाले जनसंगठन प्रमुख भानुभक्त ढकाल युवाले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट नगरे पार्टीले सुझाव दिने गरेका छन् । तर, उनको सुझावलाई युवा संघमा अटेर गरिरहेका छन् । अन्य जनवर्गीय संगठनमा पनि एमालेले निर्वाचनको विधि र प्रकृया नअपनाएकाले युवा संघमा पनि पेलेर नै जाने तयारी हुँदा युवा संघका कार्यकर्ता असन्तुष्ट बनेका छन् । युवा संघमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा चयन हुने युवा संघका पूर्वअध्यक्षहरू बताउने गरेका छन् । युवा संघको स्थापनाको पहिलो अध्यक्ष नै केपी शर्मा ओली हुन् । उनको चाहानविपरीत कोही पनि अध्यक्ष हुने सम्भावना नभएको एमालेका नेताहरूले बताउने गरेका छन् ।

महासचिवमा पनि ४/५ जना दाबेदार छन् । हाल कोशीको इन्चार्ज तथा सचिव निरोज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईं, खेम शर्मा, राजु थापालगायत महासचिवका दाबेदार थिए । त्यसमध्येमा थेवेको समूहबाट विनय शाहलाई अघि बढाउने तयारी थालेको छ । शाहलाई अघि बढाउदा भेगिए सन्तुलनसमेत मिल्ने बताइएको छ । युवा संघमा एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि ४/५ जना आकाङ्क्षी छन् । युवा संघमा अहिले १७ जना पदाधिकारी छन् । अब ९ जना मात्रै रहने प्रावधान छ । महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ । महाधिवेशनमा देशभरबाट १८ सय ३ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित: ११ जेष्ठ २०८२ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App