राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको आदेशमाथि द्वैध चरित्रको आशय झल्किने निर्णय गरेको छ। शुक्रबारको सर्वोच्चको आदेशपछि शनिवार बसेको केन्द्रीय समितिको बैठकको निर्णयमा आदेशलाई ‘कानुनी रूपमा स्वीकार गरेको’ बताए पनि ‘निर्णय लिँदाको प्रक्रियाबारे आशङ्का’ व्यक्त गरेको हो। जुन आफैमा द्वैध आशययुक्त देखिन्छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्दछौँ,’ बैठकपछि प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौँ रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा हाम्रो सरोकार र चिन्ता रहेको छ ।’
रास्वपाले सर्वोच्चको आदेशलाई पनि ‘राजनीतिक प्रतिशोध’ भन्न छुटाएन। ‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १० जेष्ठ २०८२ १९:२१ शनिबार





