५ मंसिर २०८३ शनिबार
image/svg+xml
खेल

ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

आगामी आठ गतेदेखि सुरु हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टर्च दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट ल्याउनुपर्ने स्थानीयले सुझाव दिएका छन्। 

हालसम्म भएका राष्ट्रिय खेलकुदमा लुम्बिनीबाट ओलम्पिक टर्च ल्याउने गरिएको छ।

‘कर्णालीको दैलेख जिल्लास्थित श्रीस्थानमा प्राकृतिक ज्वाला छ, जहाँ हजारौं वर्षदेखि ज्वाला बलिरहेको छ,’ कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्व सदस्यसचिव विश्वामित्र संज्यालले भने, ‘कर्णालीमा हुने खेलकुदको महाकुम्भमा कर्णालीकै प्राकृतिक ज्वालाबाट ओलम्पिक टर्च ल्याइनुपर्दछ।’

उनले प्राकृतिक ज्वालाबाट सल्काइएको ज्वालालाई उत्तरको चीन र दक्षिणको भारतको सीमासम्म पुर्‍याउन आवश्यक रहेको बताए। ‘कर्णाली प्रदेशलाई दक्षिणको छिमेकी भारतले छुँदैन,’ उनले भने, ‘उत्तरको सीमा हुम्लाको हिल्सा पुर्‍याएर मुगुको राराताल, जुम्लाको चन्दननाथ मन्दिर हुँदै ओलम्पिक टर्चलाई दक्षिणको सीमा रुपैडिहासम्म पुर्‍याउनुपर्छ।’ उनले दैलेखको प्राकृतिक ज्वालाबाट ओलम्पिक टर्च बाल्दा त्यसले यो क्षेत्रको प्रचार-प्रसारमा सघाउ पुग्ने बताए।

‘कर्णालीमा खेल हुँदै गर्दा ओलम्पिक टर्च बाल्न लुम्बिनी जानुपर्दैन, यहाँ सधैंयौंदेखि प्राकृतिक रूपमा बलिरहेको प्राकृतिक ज्वालाबाट ओलम्पिक टर्च बालिनुपर्छ,’ उनले भने, ‘यसो गर्दा यहाँको प्रचार-प्रसार हुन्छ, पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ।’

शनिबार राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार-प्रसार उपसमितिको बैठकमा पनि पत्रकारहरूले ओलम्पिक टर्च दैलेखको प्राकृतिक ज्वालाबाट बाल्न सुझाव दिएका थिए।

प्रकाशित: ५ मंसिर २०८३ १९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App