नेकपा (एमाले) का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा हिँडिरहेको टिप्पणी गरेका छन्।
शुक्रबार (आज) कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उनले जागरण अभियानमा रहेका दाहालका प्रति यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, 'अझ कमरेड केपी ओलीकै भाषामा भन्दा त मान्छे र वनमान्छेका बीचमा जति फरक छ, कमरेड केपी ओली र प्रचण्डका बीचमा त्यति नै फरक छ। कमरेड केपी ओली राष्ट्रवादी नेता हो, देशभरि अस्पतालहरूको उद्घाटन एकैपटक गर्ने नेता हो, धरहरा बनाउने नेता हो।'
उनले ओलीका विरुद्धमा घेराबन्दीको प्रयास भइरहेको पनि बताएका छन्। तिनका विरुद्ध आफूहरू खडा भएर उत्रिने चेतावनी पनि उनले दिए। मुख्यत: राजावादीहरूले यो प्रयास गरिरहेको उल्लेख गर्दै बस्नेतले राजतन्त्र नफर्किने दाबी गरे।
पूर्वराजा ज्ञानेन्द्र शाह अब टिकट काटेर मात्रै नारायणहिटी छिर्ने टिप्पणी गर्दै उनले भने, 'एमालेको वैशाखीमा सांसद बनेका राजेन्द्र लिङ्देनहरूले आज कमरेड केपी ओलीलाई भाग्नका लाग हेलिकोप्टरको व्यवस्था गर्ने अभिव्यक्ति दिएछन्।'
प्रकाशित: ९ जेष्ठ २०८२ १४:५७ शुक्रबार