शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उनले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राखे। उनीहरूको क्षमता अभिवृद्धिका साथै जीवनको सहजताका लागि शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नेमा सरकारले ध्यान दिइरहेको मन्त्री पन्तको भनाइ थियो ।
उनले कार्यक्रममा प्रस्तुत बौद्धिक अपाङ्गताका क्षेत्रका सवाल र समाधान गर्नुपर्ने विषयबारे ध्यान दिएर नीतिगत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे। “यहाँ राम्रा विषयहरू प्रस्तुत भएका छन् । अपाङ्गताका क्षेत्रमा बनेका नीतिगत व्यवस्था, वस्तुस्थिति र सामाजिक परिवेशअनुसार व्यावहारिक रूपमा कार्यान्वयन गर्न ध्यान दिनुपर्ने आवश्यकता छ”, मन्त्री पन्तले भने,“सरकारका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हामी सचेत छौँ । समावेशी र अपाङ्गता भएका व्यक्तिहरूलाई सबल र सक्षम बनाउनेमा पनि अब्बल हुन नेपालले प्रयास गरिरहेको छ ।”
प्रकाशित: ९ जेष्ठ २०८२ १४:३९ शुक्रबार





