प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य (सांसद) अमनलाल मोदीबीच भनाभन भएको छ। बिहीबार (आज) बसेको समितिको बैठकमा पोखरेल र मोदीबीच भनाभन भएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने मोदीले लेखा समिति प्रमुख प्रतिपक्षको हुनुपर्ने प्रसङ्ग निकालेर बोल्न थाले। पोखरेलले मोदीको उक्त भनाइलाई 'समाचार र युट्युबमा भिडिओ' खोजेको रूपमा अर्थ्याए।
यसपछि पोखरेल-मोदीबीच लामै समय चर्काचर्की चल्यो। उनीहरूबीच यसरी भयो चर्काचर्की।
मोदी : सार्वजनिक लेखा समितिचाहिँ प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरू हुँदैन हुँदैन भन्नुहुन्छ। तपाईंहरूको दास होर हामी ? हाम्रो कुरा हो नि यो। माओवादी पार्टीको कुरा हो। हामी बोल्छौँ।
पोखरेल : तपाईंलाई भ्युज चाहिएको छ। अब यति भएपछि एउटा भिडिओ, समाचार आइहाल्यो त। अब रोकिनुस्।
मोदी : भ्युजको कुरा होइन।
पोखरेल : यहाँ तपाईंहरूले २/४ जना खिच्ने मान्छे लिएर आउनुभएको छ।
मोदी : तपाईंहरू प्रतिबन्ध लगाउने हामीलाई ?
पोखरेल : आजका मितिसम्म बोल्नै पाउनुहुन्न भनेकै छैन। अपव्याख्या नगर्नुस्।
मोदी : हाम्रो सार्वजनिक लेखा समितिका सम्बन्धमा सभापतिमाथि नै प्रश्न छ। पटकपटक भनिरहेको छु त।
पोखरेल : तपाईंलाई केही चाहिएकै हैन। भरै दुईचारवटा समाचार चाहिएको हो। त्यति हो क्या। तपाईंले २/४ वटा खिच्ने मान्छे लिएर आउनुभएको छ। तपाईंले युट्युब बनाएर हाल्नुहुन्छ। त्यति हो। हरेक दिन तपाईं किन बोल्नुहुन्छ भने मलाई राम्रोसँग थाहा छ। तपाईंले विज्ञापन गर्न खोजेको हो। मलाई राम्रोसँग थाहा छ।
यसअघि बुधबार (हिजो) मात्रै पनि महिला तथा सामाजिक समितिमा यस्तै झमेला भएको थियो। समिति सदस्य कल्पना मियाँ कुसारीले सभापति किरणकुमार साहलाई आफ्नो नेमप्लेट र माइकले नै हानेकी थिइन्।

त्यसो त यस्ता घटना सदाका मिनी संसद् बैठकमा पनि हुने नगरेका होइनन्। तर, धेरै कम मात्रामा हुन्थे। तर, हिजोआजका बैठकहरूमा भने प्राय:जसो सांसदहरूका बीचमा भनाभन र चर्काचर्की हुने गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई सांसदहरू 'असहिष्णु' बन्दै गएको भनेर टिप्पणी गरेका छन्।
प्रकाशित: ८ जेष्ठ २०८२ १५:०७ बिहीबार