नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रमा फर्किऔँ भन्नु उल्टो बाटो हिँड्न भएको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन्।
'शाह वंशका एक जना व्यक्ति हामीले नै समर्थन गरेर राजा भए। अब फेरि पनि राजतन्त्र चाहिन्छ भन्नु उल्टो बाटो हिँड्नु हो, यो फेरि स्थापित हुन सक्दैन,' उनले भने।
उनले राजावादी पार्टी रहनै नहुने टिप्पणी गरे। 'कांग्रेस एउटै पार्टी हुनुपर्छ, कम्युनिष्ट पार्टी एउटै हुनुपर्छ। तर, राजावादी पार्टी हुनु हुँदैन। डेमोक्रेसीमा जे पनि हुन्छ ? उत्पात ल्याउँछु, राजा ल्याउँछु भन्न पाइँदैन। संविधान, कानून मानेर मात्रै राज्यमा नागरिक भएर बस्न पाइन्छ। यदि त्यसो नभए प्रतबन्ध लगाइदिनुपर्छ,' उनले भने।
बहुदलीय व्यवस्था र अभिव्यक्ति स्वतन्त्रताको विषय पनि छन् नि ? भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, 'विचार र अभिव्यक्ति जनताको विरुद्धमा जान्छ भने त्यो रहन हुन्छ त ?'
प्रकाशित: ७ जेष्ठ २०८२ १९:३२ बुधबार