१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

विकासशील राष्ट्रमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण : उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताएकी छन् ।  

चीनको सियान शहरमा भैरहेको गरिबी न्यूनीकरण र दिगो विकास सम्बन्धी सांघाई सहयोग मञ्चलाई मंगलबार सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवाहरूमा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनिरहेको धारणा राखेकी हुन् । ‘आजको आधुनिक युगमा समेत विश्वका एक अर्बभन्दा बढी मानिसहरू चरम गरिबीको रेखामुनि जीवन यापन गर्न बाध्य छन्, विशेषतः विकासशील र अविकसित राष्ट्रहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आधारभूत सेवाहरूमा पहुँच अभावका कारण दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनिरहेको छ,’ उनले भनिन्, ‘जलवायु परिवर्तन, महामारी तथा द्वन्द्वका कारण उत्पन्न थप जटिलताहरूले यो समस्यालाई अझ गहिरो बनाएको छ।’

उपाध्यक्ष घिमिरेले क्षेत्रीय शान्ति, स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय प्रवर्द्धन गर्ने एक सशक्त बहुपक्षीय मञ्चको रुपमा शाङ्घाई सहयोग संगठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै हाल संवादमा साझेदारको रुपमा रहेको नेपालले मञ्चका सिद्धान्त, उद्देश्य र कार्यसूचीलाई पूर्ण समर्थन गर्ने बताइन् । उनले गरिबी निवारण र दिगो विकासका लागि मञ्चले पुर्‍याएको योगदान, लिएको पहलकदमी र प्रवर्द्धन गरेको सहकार्यलाई नेपालले उच्च मूल्यांकन गरेको दोहोर्याइन् ।  

साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूमा विशाल जनसंख्या, प्राकृतिक स्रोत साधन र विविधता विद्यमान रहेकोले  ज्ञान, प्रविधि, अनुभव र पूँजीलाई साझा प्रयोजनमा प्रयोग गर्न सकेमा मञ्चले अकल्पनीय सकारात्मक परिणामहरू ल्याउन सक्ने भनाई उनको थियो । उपाध्यक्ष घिमिरेले विशेषगरी,  विकासशील राष्ट्रहरूका लागि वित्तीय पहुँच, सीप विकास, अनुकूल प्रविधिको स्थानान्तरण र लगानी प्रवर्द्धनमा यस संगठनको भूमिका निर्णायक हुन सक्ने धारणा पनि राखिन् ।  

विश्वव्यापीरूपमा जलवायु परिवर्तनप्रतिको संवेदनशीलता, हरित ऊर्जा जस्ता ज्वलन्त विषयमा सामुहिक पहल र सहकार्यलाई उच्च मूल्यांकन गर्दै नेपाल सरकारले सगरमाथा संवाद जस्तो स्थायी मञ्चको थालनी गरेको बताउँदै उपाध्यक्ष घिमिरेले सगरमाथा संवाद नेपालको नीति निर्माताहरू देखि बिज्ञ तथा नागरिक समाजलाई एकै स्थानमा ल्याएर गम्भीर विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय मुद्दाहरू र चुनौतीहरू सम्बोधन गर्नका लागि विश्वव्यापी संवाद मञ्चको रुपमा विकास गर्न खोजेको स्पष्ट पारिन् । 

प्रकाशित: ६ जेष्ठ २०८२ १९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App