६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीप्रति कांग्रेसको आशंका कि अविश्वास?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछिको १० महिना पूरा भएको छ। नेपाली कांग्रेससहितका राजनीतिक दलहरूको समर्थनमा ओली चौथो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेदेखि नै सरकारको आयुका विषयमा विभिन्न आशंकाहरू व्यक्त हुँदै आएका छन्।

प्रतिनिधिसभाको पहिलो ठुलो दल नेपाली कांग्रेस र अझ त्यसका सभापति शेरबहादुर देउवाको विश्वास जुटाउन सकेका ओलीलाई अहिलेसम्म सत्ता संकट भने आइनसकेको विश्लेषण गरिएको छ। तर प्रमुख सत्ता साझेदार कांग्रेसभित्र भने प्रधानमन्त्री ओलीको कार्यशैलीसहितका विषयले आशंकाहरू बढाउँदै लगेको छ। 

एउटा समयसम्म सरकारको कामप्रति नेता डा. शेखर कोइरालाले मात्र प्रश्न उठाउँदै आएका थिए। तर प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली परिवर्तन नगरेको भन्दै अहिले  कांग्रेसका अधिकांश सांसद विपक्षमा देखिएका छन्। सरकारप्रतिको आशंका एकपछि अर्को गर्दै बढ्दै गएको छ।

सरकार र प्रधानमन्त्रीको कामका कारण प्रमुख सत्ता घटक कांग्रेस र एमालेका बिचमा उत्पन्न आशंकाहरू बिस्तारै अविश्वासमा परिणत हुन थालेका छन्। १० महिनाका बिचमा उत्पन्न विभिन्न आशंकालाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओली र एमालेले नै भाँजो हालेको कांग्रेस बुुझाइ छ। त्यसले दुई दलबिचमा बढ्दो आशंका अविश्वासमा परिणत हुन थालेको कांग्रेस नेताहरूले बताउँदै आएका छन्।

गैरआवासीय नेपाली (एनआरएन) को संगठनको अधिवेशनका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फरकफरक धारणा रहेको, भूमिसम्बन्धी अध्यादेश ल्याएको, प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनको भ्रमणका क्रममा कांग्रेसको अडानविपरीत चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना अघि बढाउन सहमति गरेको, एमालेसँग सत्ता सहकार्यको मुख्य आधार भनिएको संविधान संशोधन २०८७ सालमा हुने धारणा राखिएकोलगायत विषयले दुई दलबिचको आशंका र अविश्वास बढ्दै गएको हो। सोही समयमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले प्रतिनिधिसभाको आइतबारको बैठकमा ओली नेतृत्वको वर्तमान सरकारले काम गर्न नसकेको धारणा राखेका छन्। 

उनले सबै राजनीतिक दल सहभागी भएको सर्वदलीय सरकार गठन गर्नुपर्ने तर्क अघि सारेका छन्। सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको उनले बताए। ‘एक किसिमको नयाँ सोच र नयाँ सम्भावना सिर्जना गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘एकपल्ट सबै शीर्षस्थ नेताहरू टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छु।’

गौतमले मात्र होइन, शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आक्रोश र नियतमाथि गम्भीर आशंका व्यक्त गरेका छन्। कांग्रेसविरुद्ध ओलीले समानान्तर गतिविधि गरिरहेको भन्दै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको ढिलासुस्ती, प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सत्ताभित्रै देखिएको असामञ्जस्यताको विषयलाई अब नजरअन्दाज गर्न नमिल्ने तर्क गरेका छन्। ओलीलाई आँखा चिम्लिएर विश्वास गर्दा कांग्रेसका लागि प्रत्युत्पादक हुन सक्ने जनाउँदै सांसदहरूले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व पनि हस्तान्तरण नगर्ने विश्लेषण सुनाए।

गभर्नर नियुक्तिमा भएको अनिश्चितता र ढिलाइ प्रधानमन्त्री ओलीकै चाहना र रणनीतिअनुसार भएको कांग्रेस सांसदहरूको विश्लेषण छ। कांग्रेसले भनेअनुसार गभर्नर नबनाउन ओली लागि परेको जनाउँदै कांग्रेस सांसद् हृदयराम थानीले एमालेसँगको सहकार्यका विषयमा विचार गर्न नेतृत्वलाई सुझाएका छन्। 

गभर्नर नियुक्ति गर्न अनेकन उल्झन खडा गर्ने ओलीले सरकारको नेतृत्व सहजै हस्तान्तरण गर्ने भ्रममा नपर्न पनि सांसदहरूले नेतृत्वलाई सुझाएका छन्। पूर्वसहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्ने बेलासम्म ओलीले अन्य दलहरूको साथ लिएर आफैं निरन्तर प्रधानमन्त्री बन्ने विश्लेषण पनि बैठकमा सुनाएका थिए।

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग कांग्रेसलाई निकै टाढा पुर्‍याउने पक्षमा ओली रहेको उनीहरूको दाबी छ। आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन सक्ने अवस्था नभए ओली निर्वाचनमा जान सक्ने कांग्रेस सांसद्हरूको विश्लेषण छ। निर्वाचन भएको चार वर्ष भएकाले सर्वोच्चले पनि त्यसलाई सदर गर्ने अवस्था आउने आशंका र अविश्वास प्रकट गर्दै उनीहरूले प्रतिनिधिसभाको पहिलो दलले सरकारको नेतृत्व लिनुपर्ने र एमालेलाई कुरेर बस्न नहुने तर्क गर्न थालेका छन्। 

सांसद शंकर भण्डारीले केपी ओलीको दया, कृपामा प्रधानमन्त्री लिनुपर्ने पार्टी कांग्रेस नभएको धारणा राखेका थिए। ओलीले कांग्रेस र पार्टी सभापतिसँग मजाक गरिरहेको भन्दै उनले वर्तमान सरकारको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। सांसदहरूले नीति तथा कार्यक्रमले कांग्रेस सरकारमा सहभागी भएको अनुभूतिसमेत हुन नसकेको जनाउँदै बजेट न्यायोचित विनियोजन नभए पारित नगर्ने कांग्रेस सांसद्हरूले नेतृत्वलाई चेतावनी दिएका छन्। 

तर सभापतिसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको काम र प्रधानमन्त्री ओलीका विषयमा दलको बैठकमा कुनै टिप्पणी गरेनन्। माओवादी केन्द्रका नेताहरूसँग पछिल्लो समय संवादमा रहेका देउवाले शनिबार बिहान राजधानीमा आयोजित कार्यक्रममा ओली पनि लामो समय जेल बसेको नेता भएको बताए। प्रधानमन्त्री ओलीप्रति विभिन्न आशंका र असन्तुष्टि रहे पनि अविश्वासकै अवस्थामा आफू पुगिनसकेको संकेत उनले गरे। तर सोमबारको मन्त्रिपरिषद्को बैठकले विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने कांग्रेस नेताहरूको बुझाइ थियो। 

प्रधानमन्त्री ओलीले त्यसका लागि तयार नरहेको भन्दै सोमबारको बैठक नै स्थगित गरेको बताइएको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गर्दै आएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘सभापतिजीसँग कुरा गर्दा उहाँ (ओली) ले राम्रै मान्छे हुन्छ, डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ। तर यो कुरा सोच्दा कतैकहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता छ।’ गभर्नर नियुक्तिमा संविधान मिचिएको पनि उनले बताउँदै आएका छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App