सशस्त्र द्वन्द्वका बेला २०६१ सालमा आफ्ना कार्यकर्ताले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावुक देखिन्थे।
सार्वजनिक मञ्चहरूमा सशस्त्र द्वन्द्वका बेला माओवादीबाट ‘हत्या’ गरिएकाहरूको जिम्मेवारी आफूले लिने बताउने गरेका दाहाल डेकेन्द्रको घरमा पुग्दा भने बेग्लै सुनिए।
हत्या गरिँदा डेकेन्द्र रेडियो नेपालका समाचारदाता थिए। सदरमुकामको खानेपानी आपूर्ति माओवादीले बन्द गरिदिएपछि उनीहरूसँग वार्ता गर्न गएका डेकेन्द्रको नौमुले गाउँपालिका–१ को द्वारीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठामा हत्या गरिएको थियो ।
दाहालले आमा गंगादेवी थापासँग सशस्त्र द्वन्द्वका बेला डेकेन्द्रको हत्या गरिनु ठूलो भूल भएको बताए। ‘डेकेन्द्रको हत्याले माओवादीलाई ठूलो क्षति पुर्यायो, यो घटनाप्रति पार्टीका तर्फबाट आत्मलोचना गर्छु,’ आमासँग उनले भने, ‘परिवारप्रति हामी सधैँ सम्मान व्यक्त गर्छौँ।’
डेकेन्द्रका भाइ यज्ञराजका अनुसार सशस्त्र द्वन्द्वकै बेला पनि माओवादीले विज्ञप्तिमार्फत डेकेन्द्रको हत्यालाई ‘गल्ती’ भन्दै आत्मलोचना गरेको थियो। ‘त्यसयता पनि दाहालले आत्मलोचना गरिरहनु भएको छ,’ उनले भने, ‘उहाँले डेकेन्द्रको हत्या गरिँदा दैलेखमा पार्टीले ठूलो क्षति बेहोरेको पनि बताउनुभयो।’
दाहालले यति भनेपछि डेकेन्द्रकी आमाले गल्ती स्वीकार गर्नु ठूलो कुरा भएको बताउँदै आगामी दिनहरूमा यस्ता गल्तीहरू नगर्न आग्रह गरिन्। ‘त्यो बेलाको समय त्यस्तै थियो, तपाईंका कार्यकर्ताबाट गल्ती भएको हो,’ आमाको भनाइ उद्धृत गर्दै यज्ञराजले भने, ‘गल्ती स्वीकार गर्नु ठूलो कुरा हो।’
उनले आगामी दिनहरूमा आफ्नो परिवार र हत्या गरिएका छोरा डेकेन्द्रप्रति सम्मान जनाइदिन पनि आग्रह गरिन्।
यज्ञराजका अनुसार अदालती फैसला र हत्या घटनामा अदालतले सजाय तोकेका माओवादी कार्यकर्ताका विषयमा भने केही कुरा भएन। ‘अदालतले आफ्नो काम गरिरहेको छ, त्यसमा पार्टीले अवरोध नगरेकाले यो विषय उठेन्,’ उनले भने, ‘यदि यसमा माओवादीले रोकतोक गरेको भए कुरा उठाइन्थ्यो।’
डेकेन्द्र हत्याको चार वर्षपछि मानव अधिकारकर्मी र पत्रकार महासंघको अगुवाइमा शव उत्खनन गरिएको थियो। हत्या भएको ८ वर्षपछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा माओवादीका जिल्लास्तरीय नेता तथा कार्यकता रहेका थिए। उनीहरूलाई अदालतले पनि दोषी ठहर गरेको थियो।
हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। अदालतले दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्का रहेका थिए। तीमध्ये मुक्ति भनिने बमबहादुर खड्का अझै पक्राउ परेका छैनन्।
दाहालले हत्या गरिएका पत्रकार डेकेन्द्रको घरका परिवारसँग भेट्नुका साथै डेकेन्द्र चोकमा राखिएको उनको शालिकमा माल्यार्पण पनि गरेका छन्। उनी मध्यपहाडी रोकमार्ग केन्द्रित अभियानका क्रममा छन्।
प्रकाशित: ५ जेष्ठ २०८२ १९:०९ सोमबार