पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दैलेख सदरमुकाममा द्वन्द्वको बेला विद्रोहीबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शालिकमा माल्यार्पण गरेका छन् ।
सोमबार दाहालले दैलेख बजारस्थित डेकेन्द्र चौकमा रहेको थापाको शालिकमा फुलमाला सहित माल्यार्पण गरेर हत्याप्रति आत्मआलोचना गर्दै गल्ती भएको कुरा बताएका हुन् ।
दाहालले स्वर्गीय पत्रकार थापाको घरमै पुगेर आमा गंगादेवी थापालाई भेटेका छन् । भेटका क्रममा आमासँग दाहालले त्यो बेला पार्टीबाट ठुलो गल्ती भएको समेत बताएको डेकेन्द्रका भाइ यज्ञराज थापाले बताए ।
'त्यो बेला पार्टीबाट गल्ती भएको कुरालाई फेरी दाहालले घरमा आमासँग आत्मआलोचना गर्नुभयो,' भाइ यज्ञराज थापाले भने,'पार्टी घटना लगत्तै पनि गल्ती भएको विज्ञप्ति निकालेको थियो । फेरी प्रचण्ड घरमा पुगेर घटनाको पुनः आत्मआलोचना गर्नुभयो ।' परिवारजनले प्रचण्डलाई फुलमाला लगाएर घरमा स्वागत गरेका थिए ।
नौमुले गाउँपालिका ३ द्धारीमा २०६१ साउन २७ गते पत्रकार थापालाई दिउँसै खाल्डोमा पुरेर तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।
उनी आज (सोमवार) दैलेखपछि सोमबार मध्य पहाडी लोक मार्गबाट जाजरकोट हुँदै रुकुम पश्चिम जाने कार्यक्रम रहेको छ ।
प्रकाशित: ५ जेष्ठ २०८२ १४:०८ सोमबार