सांसद अमरेशकुमार सिंहले शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई नेकपा (एमाले) मा 'मर्ज' गराउनका लागि कसम खाएको आरोप लगाएका छन्।
आइतबार (आज) बसेको संसद् बैठकमा भाग लिएका सिंहले कांग्रेस सभापति देउवाले पार्टीलाई एमालेमा मर्ज गराउनका लागि कसम खाएको आरोप लगाएका हुन्।
'कांग्रेस सभापतिले कसम खाएको छ कि म सभापति भइन्जेलसम्म कांग्रेस नास गर्छु, जस्तो हिजोको दिनमा राजालाई बुझाएको थिएँ, यसपाली पनि एमालेलाई बुझाएर कांग्रेसलाई मर्ज गराउँछु,' सिंहले भने।
उनले अहिले कांग्रेस उपसभामुख इन्दिरा रानाको राजीनामा गराउने र आगामी चुनावका लागि खर्च जुटाउने तयारीमा रहेको पनि आरोप लगाए।
'कांग्रेसलाई अर्को चुनावलाई पैसा भए पुग्छ, जनतामा जानु पर्दैन। त्यसका लागि यहाँको उपसभामुख, एउटी जनजाति महिलालाई उसको पदको बलि दिने कुरा हुँदैछ, त्यो स्वीकार हुँदैन। म भन्न चाहन्छु- ०८४ मा कांग्रेसलाई जनजातिको बीचमा जानुपर्छ कि पर्दैन ? मधेसीको बीचमा जानुपर्छ कि पर्दैन ? कांग्रेसले मधेसीलाई सचिव बन्न नदिने ? तपाईंहरूले देखिसक्नुभएको छ, कांग्रेसले एउटी महिला मधेसी भएको कारणले सचिव बन्न दिएन,' उनले भने।
उनले थपे, 'कांग्रेस महिला, मधेसी, जनजाति, मुस्लिम सबै विरोधी हो। महिला सचिव नबनाएर; त्यो कांग्रेसको मन्त्रालय थियो। कांग्रेस त्यसबाट उन्मुक्ति हुन मिल्दैन। सहसचिव नम्बर वान् थियो, एक वर्ष सिनियर पनि थियो। तर, उसको दोष एउटै मात्रै थियो, ऊ मधेसी महिला थियो। उसले भ्रष्टाचारमा पैसा दिन सक्दैन थियो।'
सिंहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पनि देउवाले नै पक्राउ गर्न लगाएको आरोपित गरे। देउवाले कांग्रेसकै गृहमन्त्रीबाट चौधरीलाई पक्राउ गर्न लगाएको आरोप सिंहको छ।
'तपाईंले कांग्रेसको गृहमन्त्रीबाट कैलाली टीकापुरको थारुको नेता, त्यो पनि सुदूरपश्चिमको; त्यसलाई जेल हाल्ने, नाटकीय तरिका। के तपाईंले टार्गेट गर्न खोज्नुभएको छ ? म थारु, तामाङ, मगर, मधेसीलगायत सबैसँग आग्रह गर्न चाहन्छु, ०८४ मा कांग्रेसलाई आफ्नो दर्बजाबाट डाँडा कटाउनुस्,' उनले भने।
प्रकाशित: ४ जेष्ठ २०८२ १५:२१ आइतबार