२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजावादीहरू आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँग समेत अन्तर्क्रिया गर्ने

नबराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पारेको छ।

आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं ,ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने भएको छ।

काठमाडौंको साँखुबाट सुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ। 'कार्यक्रम तय गर्न एक कार्यदल बनाइएको थियो, कार्यदलले विस्तृत कार्यक्रम बैठकमा पेस गरेको छ,' स्रोतले भन्यो।

कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न एक भेला समेत आयोजना गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैगरी जनआन्दोलनको आवश्यकता, औचित्य र महत्त्वको बारेमा आगामी जेठ ६ गते विभिन्न क्षेत्रका प्रबुद्ध वर्गसँग अन्तर्क्रिया कार्यक्रम तय गरी तयारी भइरहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 'शीर्ष नेताहरूको उपस्थितिमा अन्तर्क्रिया हुन्छ,' उनले भने।

प्रकाशित: ४ जेष्ठ २०८२ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App