नेपालमा अर्बौँ रकम सहकारी ठगेर मलेसियामा आश्रय लिएर बसेका गितेन्द्रबाबु राई(जिबी)बारे सगरमाथा बेसक्याम्पमा गृहमन्त्री रमेश लेखक र एक आरोहीबिच घोचपेच र हाँसी मजाक चलेको छ। सगरमाथा बेसक्याम्पमा गृहमन्त्री रमेश लेखक र आरोही मिङ्मा शेर्पाबिच घोचपेच र हाँसी मजाक चलेको हो।
प्रशंग शनिवार बिहानको हो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा केही दिनदेखि सगरमाथा बेसक्याम्पमा छन्। केही महिनाअघि लोबुचे हिमालको सफल आरोहण गरेका महामन्त्री शर्मा अब सगरमाथा आरोहणको तयारीमा छन्। सोही तयारीका क्रममा उनी यस पटक बेसक्याम्पमा पुगेर त्यहाँ आवश्यक प्रशिक्षण लिइरहेका छन्।
महामन्त्री शर्मा सगरमाथा बेसक्याम्पमा रहँदा काठमाडौंमा सरकारले विश्वव्यापी जलवायु परिवर्तनको मुद्दालाई लिएर ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना गरिरहेको छ।
यस क्रममा महामन्त्री शर्माले हिमालको समस्यामा सरकारको ध्यानाकर्षण गराउन र हिमाल आरोहण, आरोहण क्षेत्रका अभियन्ता तथा व्यवसायीका गुनासा सुनाउने वातावरणका लागि शनिवार बेसक्याम्पकै एक संवादको आयोजना गरेका थिए।
जसमा उनले गृहमन्त्री लेखकसहित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, राज्यमन्त्री अरुण चौधरी, पर्यटन मन्त्रालय, विभाग, पर्यटन बोर्डका जिम्मेवार पदाधिकारी पनि बोलाएर सरोकारवालाबिच अनौपचारिक संवाद चलाए।
अनौपचारिक संवादकै क्रममा पहिले स्थानीय सरोकारवालाले आफ्ना धारणा र गुनासा राखेका थिए।
जसमा आरोही मिङ्मा शेर्पा पनि एक थिए। उनले हिमाल आरोहण क्षेत्रका समस्या, सरकारी निकायबाट भोग्नुपरेका सास्ती लगायतका कुराको फेहरिस्त सुनाए। त्यसपछि उनले राजनीतिप्रति कटाक्ष पनि गर्न भ्याए।
‘हुन त यो राजनीति यसरी नै चल्दो रहेछ,’ उनले भने,‘गृहमन्त्री जी गृहमन्त्री हुनुभन्दा अगाडि जिबी राई खै भन्नुहुन्थ्यो उहाँले नै। अब अहिले जिबी खै कहाँ हुनुहुन्छ? उहाँलाई नै थाहा छैन। यसरी नै चल्ने रहेछ।’ उनले आफू नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको पनि सुनाए।
अनौपचारिक शैलीमा चलिरहेको उक्त संवादका क्रममा मिङ्माको उक्त बोलीपछि हाँसोको फोहरा छुट्यो। ‘म एकदम फेयर मान्छे हो। यस्तो कुराहरूमा तपाईँहरूले एकदम ध्यान दिएर सुन्दिनुस्,’ उनले आग्रह गरे।
त्यसपछि क्रमशः अरू सरोकारवाला, पर्यटन मन्त्री पाण्डे, गृह मन्त्री लेखकले आ–आफ्ना कुरा राखे। गृहमन्त्री लेखले आफ्नो सम्बोधनका क्रममा जिबीको प्रसंगमा प्रवेश गरेनन्।
अन्तिममा महामन्त्री शर्माले पनि आफ्ना कुरा राखेर छलफल टुङ्ग्याए। त्यसपछि सामूहिक फोटो सेसनको तयारी सुरु भयो। सबै आ–आफ्ना मोबाइलको खोजीमा लागे।
त्यसपछि लेखकले मिङ्मालाई आवाज लगाएर बोलाए। अनि भने, ‘तपाई के रे जिबी राई खोइ भनेर भन्नुहुन्थ्यो। मैले भन्या छैन है। त्यो बेलाका मन्त्रीहरूले जिबी राई खोज्छौँ भन्या हो यार।’
त्यसपछि फेरी उपस्थित भिडमा हाँसोको फोहरा गुन्जियो। यो प्रसङ्गको भिडिओ महामन्त्री शर्माले गरेको लाइभमा प्रस्ट सुन्न सकिन्छ।
प्रकाशित: ३ जेष्ठ २०८२ १७:१७ शनिबार