प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथिको आलोचनालाई महाभारत ग्रन्थका युधिष्ठिरसँग तुलना गरेका छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा शनिवार बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूकेन्द्रीत हमला भइरहेको भन्दै युधिष्ठिरसँग तुलना गरेका हुन्।
‘आज अनुकूल परिस्थितिमा प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई क्याप्चर गर्न, युधिष्ठिरलाई बन्दी बनाउन खोज्थे, किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ ।’
अहिले पनि नेता ढले अवस्था धानिन नसक्ने आक्रमणकारीले बुझेको प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरूले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्ने कुरा बुझेका छन् । नेपालमा हामी सतर्क छौँ ।’
एमाले हरेक परिस्थितिको सामना गरेर अघि बढ्न तयार रहेको पनि उनले बताए। ‘हामी कहाँ केही कुराको पनि त्यस्तो क्राइसिस छैन । तपाईँहरू एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नुस्,’ प्रधानमन्त्री ओलीले भने।
प्रकाशित: ३ जेष्ठ २०८२ १२:१४ शनिबार